चट्याङ लागेर बनियाँ गाउँमा लाखौं मूल्यको धनमाल नष्ट


चट्याङ लागेर बनियाँ गाउँमा लाखौं मूल्यको धनमाल नष्ट

नेपालगन्ज २१ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेमा चट्याङ लागेर लाखौं मूल्यको धनमाल नष्ट भएकोछ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर–५, बनियाँ गाउँमा चट्याङ लागेर बिहीबार राती एक पोल्ट्री फर्ममा आगलागी भएको हो ।

जानकी गाउँपालिका वडा नम्बर– ५ बानियाँ गाउँमा रहेको बिजी पोल्ट्रीफर्ममा चट्याङ लाग्दा आगलागी भयो । प्रहरीका अनुसार चट्याङबाट पोल्ट्रीफर्ममा भएको आगलागीबाट अन्दाजी २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पोल्ट्री फर्ममा आगलागी भएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्त डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेकोछ ।

यसैबीच, मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बिहीवार राती पौने १० बैजापुरबाट नेपालगन्ज आइरहेका प्रशान्त थारुको दुर्घटनामा परेर मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

पूर्वपश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगन्ज नर्सिङहोममा उपचारका क्रममा शुक्रवार बिहान करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुध बोक्ने गाडीको ठक्करबाट बाँकेमा एक जना प्रहरी जवान घाइते भएका छन् । नेपालगन्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगन्जदेखि कोहलपुर गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए ।

तालिमे प्रहरीसँगै दौडिरहका बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको नर्सिङहोम नेपालगन्जमा उपचार भइरहेको छ ।