प्रहरी धम्क्याएर रकम असुल्ने ‘कथित’ पत्रकार तमोली ‘पटके’

अभद्र ब्यवहारमा कारबाही


प्रहरी धम्क्याएर रकम असुल्ने ‘कथित’ पत्रकार तमोली ‘पटके’

नेपालगन्ज २३ माघ : प्रहरीलाई धम्क्याउदै रकम असुल्ने कथित पत्रकार मनोज तमोली ‘पटके’ रहेको खुलेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीलाई धम्क्याएर रकम असुल गर्न खोज्ने ‘कथित’ पत्रकार तमोली सीमानाका जमुनाहबाट हिजो शनिबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासता रहेका तमोलीमाथि अनुसन्धान गर्दै जाँदा उनी ‘पटके’ रहेको खुल्न आएको हो । प्रहरीको भाषामा ‘पटके’ भन्नाले एउटै ब्यक्ति पटक–पटक पक्राउ पर्नु हो । बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार ‘पत्रकार हुँ’ भन्दै नाकामा प्रहरीसंग रकम असुली गर्ने तमोली यसअघि पनि पक्राउ परिसकेका थिए ।

यसअघि पनि तमोलीले प्रहरीलाई क्यामेरा किनिदेउ भन्दै धम्क्याएका थिए । प्रहरीले त्यतिबेला सार्वजनिक मुद्दा चलाएको थियो । पछि तमोली छुटेका थिए । बाँकेको जानकी गाउँपालिका वडा नम्बर– ६ गनापुर निवासी, तमोली हिजो शनिबार दोस्रो पटक पक्राउ परे । भन्सारमा खटिएका प्रहरी हवल्दारसँग दश हजार रुपैयाँ मागेका तमोलीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएकोछ ।

तमोलीले नाकामा खटिएका प्रहरीलाई ‘तिमीले पैसा लिएको भिडियो छ । पैसा देऊ नत्र सार्वजनिक गरिदिन्छु’ भन्दै धम्क्याउने गर्दथे । बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले अगाडी भने–‘उसले यसरी नै प्रहरीसंग रकम असुल गर्दथ्यो । कतिपय उसको जालमा समेत पर्दथे ।’

Kids Festival 2022
kanti aarogya hospital

पक्राउ परेका तमोलीका साथबाट क्राइम सतर्क टेलिभिजनको कार्ड फेला परेकोछ । यसअघि उनी एबीपी क्राईम न्यूजको कार्ड लिने गर्दथे । एबीपी क्राइम न्यूजका आशिष मल्लसंगै काम गरेका तमोली केही समयअघि ठगि मुद्दामा समेत मुछिएका थिए ।

बाँके प्रहरीका अनुसार तमोली र मल्ल दुवै पत्रकारका नाममा गलत काम गर्ने र सोझासाझा जनता, प्रहरी, जनप्रतिनिधी, उद्योगी ब्यापारी सबैलाई दुःख दिने गरेकाछन् ।

यसअघि पनि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष कृष्ण कार्की लगायतको टिम नितान्त ब्यक्तिगतरुपमा बसिरहेका अवस्थामा कथित पत्रकार मनोज तमोलीले फेसबुक लाईभ गर्दै तथानाम बोलेका थिए । सो बेला तमोलीको यो हर्कतबाट आजित बनेका स्थानीयले त्यसो नगर्न भन्दा उल्टै राँझा चोकमा खटेका प्रहरी गुहारेर आफूमाथि आक्रमण भएको भन्दै प्रपण्च रचेका थिए ।

यतिमात्र होइन तमोलीलले केही महिना अघि सीमानाकामा रहेका अटोरिक्सा, ईरिक्सावालेसंग समेत बार्गेनिङ्ग गर्ने र रकम लिने गरेको एकजना पीडित ईरिक्सा चालकले सेतोखरीलाई जानकारी दिए ।

तमोलीले यसअघि नेपालगन्ज–कोहलपुर सडकखण्डमा ट्राफिक चेकिङ्गका बेला समेत भिडियो खिचेको भन्दै बार्गेनिङ्ग गरेका थिए । गनापुर र पिप्रहवा क्षेत्रमा हुने विकास निर्माण तथा अन्य गतिविधिमा समेत पत्रकार हुँ पत्रकारको भूमिका चाहियो भन्दै कुनै न कुनै बहानामा रकमको बार्गेनिङ्ग समेत गरेको गनापुरका स्थानीय एक ब्यापारिले जानकारी दिए ।

उनले भने–‘मेरो नाम नलेख्नुहोस्, गाउँकै केटो हो । पक्राउ परेको घटनाले गाउँको पनि बेइजेत भएकोछ । उसको बानी र आदत पहिलेदेखि नै खराब थियो ।’

यता नेपाल पत्रकार महासंघ बाँकेले यी दुवै जना महासंघ बाँकेको साधारण सदस्य समेत नरहेको बताएकोछ । बाँकेमा हुने पत्रकारका विभिन्न कार्यक्रमहरुमा उनीहरु प्राय नियमित देखा पर्ने गर्छन् ।