एक्साभेटरमा आगजनी गर्नेलाई कारबाही गर : काँग्रेस


एक्साभेटरमा आगजनी गर्नेलाई कारबाही गर : काँग्रेस

नेपालगन्ज २३ माघ : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ मसुरीबगरस्थित लामा चौरमा एक्साभेटरमाथी भएको आगजनीको घटनाको विरोध गर्दै नेपाली काँग्रेसले आईतबार ज्ञापन पत्र बुझाएको छ ।

काँग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर–१ बाँके, काँग्रेस प्रदेश सभा–१ क, काँग्रेस प्रदेश सभा–१ ‘ख’ र कोहलपुर नगर समितिले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधी तथा तरुण दल कोहलपुरका उपसभापति समेत रहेका ब्यवसायी गौरव रावलको भे १ क ११११ नम्बरको उक्त एक्साभेटरमा अज्ञात समुहले केहीदिन अघि आगजनी गरिदिएको थियो । आगजनीबाट एक्साभेटर पूर्ण रुपमा जलेको छ । तर, अहिलेसम्म प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छैन ।

नियम कानूनभित्र रहेर राजश्व रकम तिरी भण्डारण गरी कार्यपालिकाबाट स्टक प्रमाणित समेत गरी राखेको नदीजन्य पदार्थलाई नियमानुसार उठाई लैजाने क्रममा राष्ट्रमुखी निर्माण सेवाको पार्किङ गरिएको एक्साभेटरलाई आगजनी गरिएको घटनाप्रति खेद ब्यक्त गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

घटनाको निन्दा गर्दै कानूनी राज्यको महसुस दिलाउन र यथाशीघ्र माग पुरा गरिदिन अनुरोध गरिएको छ । अन्यथा, काँग्रेस आन्दोलित हुन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

घटनाप्रति सूक्ष्म तरिकाले अनुसन्धान गरी यथाशिघ्र दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्नुपर्ने, पीडित राष्ट्रमुखी निर्माण सेवाका प्रोपाईटर गौरव रावललाई तत्काल क्षतिपुर्ती दिनुपर्ने र लामाचौरमा पुनः कार्य सञ्चालन गर्नुपर्ने भएकाले सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई क्षेत्रीय सभापति पोषण केसीले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । उक्त ज्ञापन पत्रमा नेपाली काँग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर–१ बाँकेका सभापति पोषण केसी, काँग्रेस प्रदेश सभा–१ क का सभापति लक्ष्मण थारु, काँग्रेस प्रदेश सभा–१ ख सभापति बलराम शर्मा र कोहलपुर नगर सभापति बीरेन्द्र शाहको संयुक्त हस्ताक्षर रहेको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, काँग्रेसका नेता लुटबहादुर केसी, तरुण दल क्षेत्र नम्बर १ का सभापति दिग्विजय जंग राणा, तरुण दल कोहलपुर नगर सभापति हरी कठायत लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।