जुम्ला हिउँमा फसेका ३४ जनाको उद्धार हुन सकेन, उद्धार गर्न नसकेपछि खाद्यान खसालेर नेपाली सेनाको हेलिकोप्टर फर्कियो


जुम्ला हिउँमा फसेका ३४ जनाको उद्धार हुन सकेन, उद्धार गर्न नसकेपछि खाद्यान खसालेर नेपाली सेनाको हेलिकोप्टर फर्कियो

नेपालगन्ज २४ माघ : जडीबुटी टिप्न जुम्लाको पाटनमा गएका तातोपानी गाउँपालिका–७ र ८ का ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको ग्रागा, एडिओडार र खोटीसल्लामा छन् । त्यस क्षेत्रमा करिब ४ फिटसम्म हिउँ जमेको छ ।

दुइ साता पहिले पाटनको लेक क्षेत्रमा पुगेर जडिबुटी संकलन गरेर फर्कने क्रममा भारी हिमपात परेपछि ४ दिनदेखि उनीहरु हिउँमा फसेका हुन् । हिउँमा फसेर तातोपानी–७ बारगाउँका ४६ वर्षिया मुन रावत र ८ की ३७ वर्षिया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जडीबुटी टिप्न गएका झण्डै ५५ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । २ पटक घुमाएर अवतरण गर्न खोजे पनि सुरक्षित ठाउँ फेला नपरेपछि खानेकुरा खसालेर फर्किएको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर संगै पाटन क्षेत्रमा पुगेका एमाले जुम्लाका उपाध्यक्ष सुरत शाहीले बताए ।

हेलिकोप्टर पुग्दा हात हल्लाएर आफूहरू सकुशल रहेको संकेत दिएका थिए । पाटनमा क्षेत्रमा हिउ धेरै भएकाले हेलिकोप्टर बस्न नसकेपछि हिउँमा फसेकालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुरा खसालेर हेलिकोप्टर फर्किएको हो । अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको हो ।