प्रहरी निरीक्षक खड्काको कमाण्डमा लाखौं मूल्यको ब्रोईलर कुखुरा बरामद


प्रहरी निरीक्षक खड्काको कमाण्डमा लाखौं मूल्यको ब्रोईलर कुखुरा बरामद

नेपालगन्ज २४ माघ : बाँके प्रशासनले भारतबाट ब्रोईलर कुखुरा र सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएकोछ । बर्ड फ्लु लगायतका कारण देखाउँदै बाँके प्रशासनले यस्तो रोक लगाएको हो ।

बाँके प्रशासनले ब्रोईलर कुखुरा आयातमा रोक लगाएपनि दिनहुँ बाँकेका विभिन्न नाका भएर तस्करी भइरहेको छ । दिनहुँ अबैधरुमा भारतीय ब्रोइलर कुखुरा आयात हुनुले यहाँका कुखुरा ब्यवसायी मारमा परेको भन्दै गुनासो बढ्न थालेपछि प्रहरीले सक्रियता बढायो ।

प्रहरीको सक्रियता बढेसंगै ब्रोइलर कुखुरा मात्र होइन अन्य सामाग्रीको अबैध कारोबार र तस्करी नियन्त्रणमा समेत प्रहरीले आफ्नो उपस्थिती जनाउन थाल्यो ।

भारतबाट नेपाल अबैधरुपमा ब्रोइलर कुखुरा तस्करी हुने नाकामा प्रहरीले निगरानी बढाइरहँदा सोमबार लाखौं मूल्यको ब्रोइलर कुखुरा र ३ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का स्वयम फिल्डमा खटेर लाखौं मूल्यको अबैध ब्रोइलर र मोटरसाईकल नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक खड्काको टोलीले सोमबार विहान करिब ९ बजेको समयमा जानकी गाउँपालीका वडा नम्बर–२ नेवाजीगाउँ नजिकबाट भन्सार तथा क्वारेन्टाईन छली नेपालगन्ज लैजादैं गरेको तीन सय पीस ब्रोइलर कुखुरा र कुखुरा ल्याउन प्रयोग गरिएको भे.३ प. ५७२५, भे.२ प.२२०९ र ज.४ प. १८२७ नं. को तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काका अनुसार सो क्षेत्रमा निगरानी बढाइरहेदाँ ठूलो मात्रामा ब्रोइलर कुखुरा नेपालगन्ज तस्करी भइरहेको खबर पाउनसाथ घटना स्थल प्रहरी पुगेको थियो ।

घटना स्थल पुग्दा नेपालगन्ज लैजान तयारी अवस्थामा बेवावरिसे अवस्थामा तीनवटा मोटरसाईकलमा राखेको ठूलो परिमाणको ब्रोइलर कुखुरा बरामद गर्न सफल भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनले भने–‘तस्करहरुले हामी आएको थाहा पाउने वित्तिकै ब्रोइलर र मोटरसाईकल त्यही छाडेर फरार भए । बरामद गरिएको ब्रोइलर कुखुरा र मोटरसाईकल आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन र नेपालगन्ज भन्सार कार्यालय पठाएकाछौं ।’

उक्त घटनाको अनुसन्धान अगाडी बढाएको प्रहरीका अनुसार बरामद गरिएको उक्त तीन सय थान ब्रोइलर करिब दुई लाख ४० हजार रुपैयाँको रहेको अनुमान गरिएकोछ ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ पिप्रहवाबाट प्रहरीले भन्सार छली ल्याएको लत्ता कपडा र धाराका सामानहरु बरामद गरेकोछ ।

अन्दाजी एक लाख ३३ हजार ७६० रुपैयाँको बेवारिसे अवस्थामा बरामद गरेको उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएकोछ ।