नेपालगन्ज २५ माघ : बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई समेत छलेर ल्याइएको ८ लाख ६७ हजार ७ १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
तर, चाँदी तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरीले लखेट्दा पनि पक्राउ गर्न नसकेको सशस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र बमले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५११ ग्राम (बनेको गरगहना पाउजु, औंठी) गरी जम्मा ८ किलो २९६ ग्राम चाँदीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।