चार लाखमा खरिद गरिएको ब्राउनसुगर काठमाण्डौं लग्ने प्रविनको योजना असफल


चार लाखमा खरिद गरिएको ब्राउनसुगर काठमाण्डौं लग्ने प्रविनको योजना असफल

नेपालगन्ज १० फागुन : काठमाण्डौं लैजाने भन्दै ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगन्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेकोछ ।

प्रक्राउ पर्नेमा बढैयाताल गाउँपालिका– १, शान्तिपुर बस्ने २४ वर्षीय प्रविन विसी रहेकाछन् । उनलाई नेपालगन्ज –१६ चौलिकाबाट मङ्गलबार विहान करिब साढे ५ बजे ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रविनले भारतीय बजार रुपैडिहाका लागुऔषध कारोबारीबाट नेपाली रुपैयाँ ४ लाखमा खरिद गरि उक्त ब्राउनसुगर काठमाण्डौं लग्ने तयारी गरेका थिए । तर, बाँके प्रहरीले उनको योजना असफल बनायो ।

लागुऔषधसहित चौलिकाबाट नेपालगन्जतर्फ आइरहेका प्रविन शंकास्पदरुपमा हिँडीरहेका थिए । शंकास्पदरुपमा हिँडीरहेका प्रविनलाई प्रहरीले रोकी चेकजाँच गर्दा उनको साथबाट ३ वटा पलास्टिकको पुडियामा १५० ग्राम ब्राउनसुगर फेला परेको थियो । उनले यो नेपाली ४ लाख रुपैयाँमा खरिद गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा उक्त ब्राउन सुगर लुकाएका थिए । प्रहरीका अनुसार उनका साथबाट तीन हजार भारतीय रुपैयाँ समेत फेला परेकोछ ।

प्रहरीका अुसार पक्राउ परेका प्रविनले विगत एक वर्षदेखि लागुऔषध सेवन तथा कारोवार गर्ने गरेका हुन् । उनले उक्त ब्राउनसुगर सडकमार्ग हुदैँ काठमाण्डौं लग्ने तयारी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुसुदन न्यौपानेले ब्राउनसुगर काठमाण्डौंसम्म लग्न र यसको कारोबारमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेकोले उनीहरुको खोजी कार्य अघि बढाइएको बताए ।

डिएसपी न्यौपानेका अनुसार पक्राउ परेका प्रविनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ को परिछेद १४ को उप दफा १ को छ (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुनेछ ।