सांकेतिक तस्विर
नेपालगन्ज १० फागुन : बाँकेमा शिक्षकद्वारा एक छात्रामाथि बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका शिक्षकले आफ्नै छात्रामाथि बलात्कार प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार नेपालगन्ज स्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवालले १५ वर्षीया छात्रामाथि बलात्कार प्रयास गरेका हुन् । बलात्कार प्रयास गर्ने शिक्षकलाई पक्राउ गरि प्रहरीले हिरासतमा राखेकोछ ।
शिक्षक जयसवालद्वारा आफूमाथि बलात्कार प्रयास भएको भनि ती छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि यस्तो घटना बाहिर आएको हो । छात्राको बलात्कार उजुरी परेपछि प्रहरीले शिक्षक जयसवाललाई पक्राउ गरि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी न्यौपानेले सेतोखरीलाई जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार, शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाएको उनले बताए ।
एन्जल्स हाई स्कुलका शिक्षक जयसवालले नेपालगन्ज सुर्खेतरोड स्थित सीएससी इन्स्टिच्युटमा गणित विषयको कोचिङ पढाउने क्रममा ती छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएकोछ ।
डिएसपी न्यौपानेले भने–‘घटना माघ २५ गतेको हो, पीडित छात्राले २७ गते प्रहरीलाई घटनाका बारेमा जानकारी दिएपछि सोही दिन शिक्षक जयसवाललाई नियन्त्रणमा लिएका हौं ।’ बलात्कार पीडित छात्राले दिएको जाहेरीमा शिक्षक जयसवालले माघ २५ गते बेलुका साढे ७ बजे उक्त कोचिङ सेन्टरमा अन्य विद्यार्थी उपस्थित हुनुअगावै छात्रामाथि बलात्कार प्रयास गरेका थिए ।
डिएसपी न्यौपानेले जाहेरी र छात्राले दिएको बयानलाई उद्धृत गर्दै भने–‘कोचिङ सेन्टरमा गणित विषय पढाउने शिक्षक जयसवालले कोठाको ढोका लगाएर छात्राको गालामा किस गर्दै संवेदनशील अंगमा हातले छुदैं बलात्कारको प्रयास गरेका थिए । सोक्रममा छात्राले ईन्कार गर्दा शिक्षकले एक झापड समेत छात्रालाई हानेका थिए ।’
पक्राउ परेका शिक्षक जयसवालले छात्राको गालामा किस खाएको र संवेदनशील अंगमा छोएको समेत स्वीकारिसकेको प्रहरीले जनाएकोछ । शिक्षक जयसवालले उक्त घटनालाई लुकाउन छात्रालाई दवाव दिदैँ माफी समेत मागेको एसएमएस रेकर्डबाट समेत खुलेको अनुसन्धानमा खटेका अर्का प्रहरी अधिकृतले सेतोखरीलाई जानकारी दिए ।
आफूलाई ती शिक्षकले यसअघि पनि पटक–पटक अश्लिल ब्यवहार गर्ने र विभिन्न बहानामा शरीर छुन खोज्ने, सुमसम्याउने गरेको पीडित छात्राले प्रहरी समक्ष बयान दिएकी छन् । बलात्कार प्रयास गरेको भनि छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएपछि प्रहरीले जयसवाललाई पक्राउ गरि हिरासतमा राखेकोछ, भने छात्राको मेडिकल समेत गराएकोछ ।
छात्राले आफूलाई बलात्कार प्रयास गरेको भनि गत माघ २८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षक जयसवालका नाममा जाहेरी दर्ता गराएकी छिन् ।
कोरोना कहरको तेस्रो लहरमा बन्द रहेका बाँकेका शैक्षिक संस्थाहरुले पढाई निरन्तरता दिन अनलाई तथा कोचिङ कक्षा सञ्चालन गरेका थिए । कोचिङ कक्षा अध्ययन गरिरहेकी ती छात्रा नियमित रुपमा उक्त ट्यिुसन सेन्टरमा उपस्थित हुन्थिन् ।
आफ्नै शिक्षकले कोचिङ पढाउने नाममा बलात्कारप्रयास गरेपछि मानसिक तनाव थेग्न नसकेकी छात्राले अन्ततः न्यायका लागि प्रहरीको ढोका ढकढकाउन पुगिन् । पक्राउ परेका शिक्षक जयसवाललाई अदालतबाट म्याद थप गराई अनुसन्धान अन्तिम चरणमा लगेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी न्यौपानेले बताए ।