शौचालय गर्न निस्केकी सैनवारकी लिलीलाई बाघले खायो


शौचालय गर्न निस्केकी सैनवारकी लिलीलाई बाघले खायो

नेपालगन्ज ११ फागुन : बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ सैनवार बस्ने ४१ वर्षीय लिली थारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।

घरबाट शौचालय गर्न बाहिर निस्केको समयमा मंगलबार राती साढे ८ बजेतिर बाघले महिलालाई झम्टेको थियो ।

बाघले लिलीलाई झम्टेर खाइरहेको थाहा पाएपछि स्थानीयले होहल्ला गर्दै चिच्याएपछि बाघ भागेको थियो । आक्रमणमा गम्भीर घाइते भएकी लिलीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

मृतक थारुको शव मंगलबार राति नै पोस्टमार्टमका लागि गुलरिया स्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाघ आक्रमणमा उनको हात, खुट्टा र शरीरमा गम्भीर घाउचोट भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खानलका अनुसार बाघ आक्रमण भएको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।

केही वर्ष पहिले उक्त क्षेत्रमा बाघको आक्रमण घटना भएपनि लामो समयपछि सो क्षेत्रमा बाघको चहलपहल देखिदै आएको थियो । सैनवारस्थित महेन्द्र राजमार्गको दायाँबायाँ राष्ट्रिय निकुञ्ज रहेकोछ ।

पछिल्लो समयमा बाँकेको राप्तीपारी क्षेत्र फत्तेपुरमा बाघले आतंक मच्चाइरहेका बेला बर्दियामा पनि यस्तो घटना दोहोरिएको हो । बाघ आक्रमणको घटनाले बाँके र बर्दियाका उक्त क्षेत्र जोखिमपूर्ण मानिन्छ ।