वडाध्यक्षको निधनपछि छिन्चु तनावग्रस्तः बल प्रयोग गरेर सडक खुलाउने तयारी

आफन्त र स्थनीयवासीद्वारा बजार बन्द, राजमार्ग अवरुद्ध


वडाध्यक्षको निधनपछि छिन्चु तनावग्रस्तः बल प्रयोग गरेर सडक खुलाउने तयारी

तस्बिरः सामाजिक सञ्जाल ।

नेपालगन्ज १४ फागुन : मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगन्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनी सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । कार्कीले कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए ।

प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगन्जतर्फत आएका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सडक खुलाउने तयारी भइरहेको बताएकाछन् । ‘बिहानैदेखि यात्रु भोकै बाटोमा अलपत्र छन्, अब बल प्रयोग गरेर भएपनि सडक खुलाउनेछौं’ उनले भने ।

सडक खुलाउनका लागि आवश्यक प्रहरी समेत पठाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । आफन्तसंग छलफल भइरहेको र सहमतिको प्रयास पनि भएको उनको भनाइ छ ।