सुर्खेतमा मंगलबार साँझसम्मका लागि कर्फ्यू


सुर्खेतमा मंगलबार साँझसम्मका लागि कर्फ्यू

नेपालगन्ज १६ फागुन : अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएको विरोधमा आठ दलले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि सुर्खेतमा मंगलबार साँझसम्मका लागि कर्फ्यू लगाइएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै उत्तेजित अराजक भिडले तोडफोड र आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेकाले र प्रहरीहरुमाथि समेत ढुंगामुढा र बोतल प्रहार गरेकाले थप क्षति हुन नदिन कर्फ्यू आदेश जारी गरेको बताएका छन् ।

सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयाअनुसर बेलुकी ८ः१५ देखि मंगलबार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहारसमेत गरेको छ ।