भारतीय पर्यटक तान्न वेष्टर्न ट्राभल मार्ट शुरु


भारतीय पर्यटक तान्न वेष्टर्न ट्राभल मार्ट शुरु

नेपालगन्ज २६ फागुन : पश्चिम नेपालको पर्यटकीय प्रवेशद्वारका रुपमा रहेको नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् राउटे मुखिया सुर्यनारायण शाहीले बिहीबारदेखि सञ्चालनमा आएको उक्त मार्टको उद्घाटन गरे ।

कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रर्बद्धन गर्ने उद्देश्यले ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स–नाट्टाबाँकेको आयोजना तथा पर्यटन प्रर्बद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्बद्ध ब्यवसायीको सह–आयोजनामा मार्ट सञ्चालनमा आएको हो ।

मार्ट उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालको पर्यटकीय क्षेत्रमा घुम्न र समय विताउन छिमेकी देश भारतका पर्यटकलाई सहज हुने भन्दै उनीहरुका लागि सही र उपयुक्त गन्तब्य नेपाल रहेको उनले सुनाए । ‘सबैभन्दा नजिक रहेका भारतीय पर्यटक नेपालमा आएर सहज रुपमा घुम्न सक्नु हुन्छ, उहाँहरु मात्रै आएपनि नेपालका लागि पर्याप्त हुन्छ,’ उनले भने ।

नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले नेपालको पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको उचित प्रचार–प्रसार हुन नसकेको बताए । यस्ता मार्टले पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुग्ने उनको विश्वासछ ।

सो क्रममा होटल एशोसियशन नेपाल(हान)का उपाध्यक्ष विनायक शाह, भारतीय पर्यटन ब्यवसायी अनुज सिंघल, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा लगायतले नेपालको पर्यटन प्रर्बद्धन गर्नका लागि दुबै देशका पर्यटन ब्यवसायीबीच सहकार्य हुनुपर्ने बताए । उनीहरुले भारत र नेपालबीचको वर्षौं पुरानो मित्रवत सम्बन्ध, धार्मिक तथा साँस्कृतिक समानता लगाएतका विषयले पनि नेपालको पर्यटर्न प्रर्बद्धन गर्न सकिने भन्दै यो मार्टले नेपालका लागि भारतीय पर्यटकका लागि पुलको काम गरेको बताए ।

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् राउटे मुखिया शाहीले आफ्नो गुनासो पोखेका थिए । राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महराको नाम लिँदै उनले राउटेका लागि सहयोग नभएको गुनासो गरे ।

प्रदेश स्तरीय पर्यटन ब्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन ब्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजना गरिएको बताइएको छ ।

वेष्टर्न ट्राभल मार्ट नेपालका अध्यक्ष श्रीराम सिग्देलले मार्टमा पर्यटकीय गतिविधि सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथिलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराउने पनि कार्यक्रम रहेको बताए । उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम छ ।

मार्टमा भारतबाट करिव ५० जना पर्यटन ब्यवसायी सहभागी हुन आएका छन् । उक्त मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी भएको बताइएको छ । ‘मार्ट जे जस्तो भएपनि हामीले सुरुवात चाही गरेका छौं, अब यसलाई आगामी दिनमा निरन्तरता दिनेछौं र कमी कमजोरीलाई सुधार गरेर लैजानेछौं,’ सिग्देलले भने । वेष्टर्न ट्राभल मार्टमा आउने अतिथिका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको जनाएका छन् ।

थप समाचार

कर्णालीको गेटवे नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’

‘वेष्टर्न ट्राभल मार्ट’ पश्चिम नेपाल चिनाउने प्रयास