रङ लगाउदैन भन्दा भन्दै कसैले रङ लगायो भने कानूनी कारबाही गर्छौं : डिएसपी न्यौपाने


रङ लगाउदैन भन्दा भन्दै कसैले रङ लगायो भने कानूनी कारबाही गर्छौं : डिएसपी न्यौपाने

File Photo

नेपालगन्ज १ चैत्र : बाँके प्रहरीले होली पर्वमा जबरजस्ती रङ दल्नेलाई कानूनी कारबाही गर्ने बताएकोछ । पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै ईच्छाविपरीतका कार्य भए प्रहरी कानूनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले भने–‘होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरी कानूनानुसार अगाडि बढ्छ । सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरा तथा लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ ।’

कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ । ‘कोरोनाका कारण खुलेर होली पर्व मनाउन नपाएपनि यो वर्ष सबैमा उमङ्गको माहोल बनेकोछ, तर उमङ्गसंगै सुरक्षितरुपमा होली मनाउन बाँके प्रहरी आग्रह गर्दछ’ डिएसपी न्यौपानेले भने ।

यो वर्षको होली पर्व पहाडी र हिमाली क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ । बाँके तराई भएपनि यहाँ पहाडी, हिमाली क्षेत्रका नागरिकको बाक्लो बसोबास भएकोले दुई दिन अर्थात बिहीबार र शुक्रबार होली पर्व मनाउँने प्रचलन छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘होलीमा बाँकेको शान्ति सुरक्षा, सद्भाव कायम गर्न विगतको अभ्यासलाई नै निरन्तरता दिइनेछ, यसका लागि छुट्टै योजना बनाइएको छैन’, डिएसपी न्यौपानेले सेतोखरीसंग कुरा गर्दै भने ‘बाँकेका सम्भावित उछृङ्खल गतिविधी हुने स्थानमा प्रहरीको विशेष निगरानी हुनेछ, अरुको आत्मसम्मान र आस्थामाथि प्रहार हुने गरि होली खेलिएको पाइएमा तत्काल कानूनी कारबाही अघि बढाइनेछ ।’

पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कारबाही गरिने डिएसपी न्यौपानेले जानकारी दिए ।

होलिका अवसरमा जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानूनी क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन गरिने डिएसपी न्यौपानेले बताए ।

‘बाँके सामाजिक सद्भावको जिल्ला हो । यहाँको सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न सबै नागरिकको उतिकै भूमिका रहन्छ, त्यो भूमिकाबाट आम नागरिक भाग्नु हुदैन’ डिएसपी न्यौपानले अगाडी थपे–‘धार्मिक, सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पार्ने जोसुकै भएपनि कानूनी कारबाही गरिनेछ, यसमा बाँके प्रहरी कडारुपमा उत्रिन्छ ।’

‘होली हो भन्दै चिनेको हो, साथी हो, नाता पर्ने हो भन्दै विशेषगरि महिला, युवती र किशोरीमाथि रङ लगाउने बहानामा हुने दुव्र्यवहार, अनावश्यक तनाव र जबरजस्ती रङ लगाउने प्रयासलाई प्रहरीले सुक्ष्मरुपमा निगरानी गर्नेछ’ डिएसपी न्यौपानेले भने–‘चाडपर्व र सँस्कृतिमा विकृती ल्याउने काम कसैले गर्नु हुदैन, यस्तो गरेको पाइएमा कानूनी कारबाही गर्न प्रहरी पछि हट्दैन ।’

यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ । होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर निगरानी बढाउने छ ।

यस्तै चाडपर्व मनाउँदा उच्च सावधानी अपनाउँदै होली पर्व उल्लासमयरुपमा मनाउन बाँके प्रहरीले सर्वसाधरणलाई आग्रह गरेकोछ । चाडपर्वका बेला हुन सक्ने दुर्घटना, अपराध र जोखिम न्यूनिकरणमा नागरिक सचेत भएर लाग्नुपर्छ । यस्ता गतिविधि भए वा कसैले गरे प्रहरीलाई तत्काल जानकारी गराउन डिएसपी न्यौपानेले बाँकेबासी जनतामाझ आग्रह समेत गरे ।