बैदेशिक ब्यापार घाटा निराकरणमा सरकारले उपाय सोँचेन


बैदेशिक ब्यापार घाटा निराकरणमा सरकारले उपाय सोँचेन

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग निर्देशक डाक्टर डिल्लीराम पोखरेल । तस्विर : सेतोखरी

नेपालगन्ज ८ चैत्र : नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागले मङ्गलबार नेपालगन्जका व्यवसायीसँग आगामी बजेटमा समावेश गर्नुपर्ने बिषयमा सुझाव मागेको छ ।

व्यवसायीहरुले सरकारका विभिन्न निकायहरुले बैदेशिक ब्यापार घाटा भएको तथ्यांक निकाल्ने गरेको भए पनि त्यसलाई कम गर्न कुनै उपाय ननिकालेको भन्दै असन्तुष्टि जनाए ।

बरिष्ठ उद्योगी कन्हैयालाल वैद्यले व्यापार घाटा–ब्यापार घाटा भनेर चिन्ता पोख्नुको साटो स्वदेशमा उत्पादन कसरी गर्ने भन्ने नीति निर्माण गर्न आग्रह गरे ।

अर्का उद्योगी चम्पालाल बोथराले बिदेशबाट आयात हुने गरेका कयौं कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना भएपनि नीतिगत समस्याले हुन नसकेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्लाइ उद्योगमा प्रयोग हुने कच्चापदार्थ नेपालमै उत्पादन गर्न सके मात्र पनि वर्षमा करोडौं रकम बिदेश जानबाट रोकिने उनले जनाए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले स्वदेशमा उत्पादनलाई प्रोत्साहन बढाउने नीति नबन्दासम्म निर्यात बढ्न नसक्ने बिचार राखे । तर, सरकारका नीति निर्माताहरुले त्यतातर्फ ध्याननै नदिएको ओलीको भनाई थियो ।

केएल दुगडका प्रदीप छाजेडले कुनै बेला आत्मनिर्भर रहेका कृषि उत्पादन समेत अहिले आयात गर्नुपर्ने अवस्था आउनु दुःखको कुरा भएको बताए ।

होटल व्यवसायी एवम हानका केशव पौडेलले देशको नीति बनाउँदा पर्यटनलाई वेवास्था गरिने गरेको बताए । उनले होटल र पर्यटनलाई जोडेर आर्थिक सवलिकरण गर्न सकिने भन्दै राज्यको दृष्टिकोणमा कहिल्यै प्राथमिकतामा नपरेको गुनासो पोखे ।

उक्त छलफलमा अन्य व्यवसायीहरुले बैंकको महिनैपिच्छे बढाउने ब्याजदरको चर्को आलोचना गरेका थिए । यस्तो अस्थिर नीतिले निजिक्षेत्र धरासायी बन्ने अवस्था सृजना भएको उनीहरुको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा आयोजित आर्थिक वर्ष २०७९÷८० का लागि पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रममा विभागका उपनिर्देशक डाक्टर सञ्जयप्रशाद मिश्रले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक निभा श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग निर्देशक डाक्टर डिल्लीराम पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।