नेपालगन्ज ८ चैत्र : नेपालगन्ज उपमहानगरपालिकाले दीगो विकास लक्ष्य अन्तर्गतका १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ ।
दीगो विकाको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीहरुको टोली बनाएर प्राप्त तथ्यांकका आधारमा एउटा निचोड निकालेको छ ।
जिआईजेड/सिडिएसजीको सहयोगमा भईरहेको कार्यक्रम अन्तर्गत मङ्गलबार दीगो विकास लक्ष्यको स्थानीयकरणमा भएका प्रयासहरुको पुनरावलोकनसहित आगामी कार्यदिशा सम्बन्धमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन् २०२५ तथा सन् २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धीको विषयमा प्रस्तुतीकरण भएको थियो ।
कार्यक्रममा कार्यबाहक नगरप्रमुख उमा थापामगरले अहिलेसम्म तथ्यांकको अभावमा अन्यौलताकाबीचमा काम गर्नुपरेको भन्दै अहिले नगरमा धेरै सुधार भएको बताइन । उनले दीगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएको पनि बताइन् । उनले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको समेत प्रष्ट पारिन् ।
प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले दीगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ सहयोग रहने बताए ।
कार्यक्रमको सहजिकरण गर्दै अरुण रेग्मी र निराजन सुवेदीले यसबाट आगामी ५ वर्षका लागि राम्रो आधार तय भएको बताए ।
प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरुप्रसाद सुवेदीले आम जनताले परिवर्तनको अनुभुती पाउने गरि काम गर्नुपर्ने सुझाव दिए ।
नेपालगन्ज उपमहानगरपालिकाले १७ सूचक मध्ये लैंगिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहरहरु एवम मानव बस्तीहरुलाई समावेशी, सुरक्षित उत्थानशील र दीगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाईका अवसरहरु प्रबद्र्धन गर्ने, स्थिर समावेशी र दीगो आर्थिक वृद्धि पूर्णता उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने सूचकहरुलाई प्राथमिकतामा राखेको छ ।