स्वचालित मूल्य प्रणाली बनाउने तयारी

‘अब प्रति लिटर पेट्रोल १८२ र ग्यासको मूल्य २५ सय’


‘अब प्रति लिटर पेट्रोल १८२ र ग्यासको मूल्य २५ सय’

नेपालगन्ज २३ चैत्र : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि
गरेको हो ।

यससँगै देशभरका सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसका साथै निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मङ्गलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गरेर ग्यास १६ सय रुपैयाँ कायम गरेको हो ।

‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० प्रति सिलिन्डर कायम गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वचालित बनाउने तयारी

उता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मङ्गलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो ।
अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने बताइएको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।

निगमका सह–प्रवक्ता पुस्कर कार्कीका अनुसार अहिले पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत रहेको छ भने मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको छ ।

अर्थात स्वचालित भएमा पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा पुग्नेछ । उता खाना पकाउने ग्यासको मूल्य भने स्वचालित भएमा २५ सय ३२ रुपैयाँसम्म पुग्न सक्नेछ ।