बर्दियामा टाइफाइट रोग विरुद्धको खोप अभियान शुरु


बर्दियामा टाइफाइट रोग विरुद्धको खोप अभियान शुरु

गुलरिया(बर्दिया) २३ चैत्र : स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउन शुरु गरेकोछ । जिल्लाका आठ वटै पालिकाका एक लाख १० हजार ६९ जना लक्षित बालबालिकालाई खोप दिइदैछ ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

अभियानका लागि ५ सय ४९ जना स्वास्थ्यकर्मी र एक हजार ९८ जना स्वयंसेवक परिचालन गरिएको छ । चैत २३ गतेदेखि २८ गतेसम्म पहिलो चरणमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइसक्ने प्रमुख गिरीले बताए ।

बर्दियाका ८ वटै पालिका गरी ३ सय ८९ वटा विद्यालयहरु छन् । २ सय ७४ वटा विद्यालयहरु र ७५ वटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्रका रुपमा तोकिएको स्वास्थ्य प्रमुख गिरीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

खोप लगाउने उमेर समूहका झण्डै ८० प्रतिशत बालबालिका विद्यालयमा रहेका कारण विद्यालय र स्वास्थ्य केन्द्रमा खोप केन्द्र सञ्चालन गरिदैँछ ।

टाइफाईड विरुद्धको खोप अभियान बुधबार बर्दियाको महाकवी देवकोटा माध्यमिक विद्यालयका बालबालिकाहरुलाई खोप लगाएर अभियान शुभारम्भ गरिएको हो ।

विद्यार्थीहरुको परीक्षा नजिकिनु र विद्यालय बन्द हुने महिनामा अभियान सञ्चालन गर्दा विद्यार्थी बालवालिकाहरु नभेटिने हुन् की भन्ने चिन्ता पनि छ ।

खोप लगाउन छुटेका बालवालिकालाई अभियानपछि नियमित खोपमा टाईफाईड खोप लगाउने गरी अभियान शुरु गरेको हो ।

नजिकिँदो निर्वाचन, कोभिड बिरुद्धको खोप अभियान, एसईई लगायत वार्षिक परीक्षा लगायत शैक्षिक शत्रको दोसाँधमा खोप अभियान राखिएपछि बर्दियामा दुई दिन अघिदेखि अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका जन स्वास्थ्य नीरिक्षक एव सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए ।

पानी र खानेकुराबाट टाइफाइड रोगको सङ्क्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको सङ्क्रमण देखिने गरेको तथ्याङ्क छ ।