बर्दियामा किन भएन गठबन्धन ?


बर्दियामा किन भएन गठबन्धन ?

गुलरिया (बर्दिया) ८ बैशाख : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरु गठबन्धन बनाएर जाने भन्ने केन्द्रको सर्कुलर भएपनि बर्दियामा भने त्यसको प्रतिवाद गरिएको छ ।

देशका विभिन्न जिल्लामा देखिएको गठबन्धनको विवादको विषयले बर्दिया पनि अछुतो रहन सकेन । जसकारण अन्ततः बर्दिया गठबन्धन नगरी निर्वाचनमा जाने दलहरुले जनाएका छन् ।

सत्ता पक्षिय तथा गठबन्धनका दलहरुवीच लामो समयदेखि बस्दै आइरहेको छलफल निष्कर्षविहिन बनेपछि अन्ततः बर्दियाका ८ वटै पालिकामा हार्दिकता कायमै राख्दै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको छ ।

जिल्लामा रहेका सत्ता पक्षिय तथा गठबन्धन पक्षिय दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी निर्वाचनमा जाने परिस्थितिको निर्माण गर्नका लागी पटक–पटक भएका छलफल सकारात्म नभएपछि आ–आफनो पार्टीबाट उमेदवार खडा गरी निर्वाचनमा जाने निर्णय गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दियाको गुलरियामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सभासद सन्तबहादुर थारुले गठबन्धनमा सहमति हुन नसकेपछि मित्रवतरुपमा प्रतिस्प्रर्धा हुने बताए ।

गठबन्धन गरेर नै जाने हर सम्भव प्रयास भएपनि आकांक्षीहरु धेरै भएका कारण र कार्यकर्ताको भावना र मर्म अनुसार गठबन्धन जिल्लामा आवश्यक नभएको निष्कर्ष निकालिएको नेपाली काँग्रेस बर्दियाका सभापति अरुणप्रकाश सिंह राठौरले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका लागी नेकपा माओवादी केन्द्रले ६ वटा, नेपाली काँग्रेसले पनि ६ वटा र नेकपा एकिकृत समाजवादीले २ वटा स्थानीय तहको दावि गरेपछि जिल्लामा गठबन्धनको टुँगो लाग्न नसकेको हो ।

८ वटा पालिका रहेको बर्दियामा गठबन्धन दलबाटै १४ जना उम्मेदवार आकांक्षि देखिएपछि विवाद सिर्जना भएको हो । गत २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त हैसियत भन्दा बढि पदमा दावी गरेकै कारण गठबन्धनले सफलता पाउन नसकेको हो ।

यसमा केहि हदसम्म नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीको दम्भले गठबन्धन नभएको सत्ता गठबन्धन दलका एक नेताले बताए ।

बर्दियामा गत स्थानीय तहको निर्वाचनमा ठाकुरबाबा नगरपालिकामा मेयरमा नेकपा एमाले उपमेयरमा नेकपा माओवादी केन्द्र, बाँसगढि नगरपालिका र बढैयाताल गाँउपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा जित हात पारेको थियो । भने गेरुवा गाँउपालिकामा र गुलरिया नगरपालिका नेपाली काँग्रेसले मेयर र उपमेयरमा जित हात पारेको थियो ।

यसै गरी राजापुर नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकामा मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले जित हात पारेको थियो ।