समृद्ध नेपालगन्जका लागि उम्मेदवारलाई संघले गरायो प्रतिवद्धता


समृद्ध नेपालगन्जका लागि उम्मेदवारलाई संघले गरायो प्रतिवद्धता

नेपालगन्ज २३ वैशाख : ‘समृद्ध बाँके, समृद्ध नेपालगन्ज’लाई अभियानकै रुपमा लिएको नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग प्रतिवद्धता खोजेको छ ।

समृद्ध नेपालगन्जका लागि उम्मेदवारका कस्ता एजेण्डा छन् भन्ने विषयमा निजीक्षेत्रले बृहद छलफल समेत गरेका छन् ।

छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत गरे भने त्यसपछि समृद्ध नेपालगन्जका लागि १२ बुँदे सामुहिक प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् ।

नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त बिष्ट, नेकपा एमालेबाट पशुपति दयाल मिश्र, राप्रपाबाट नन्दलाल बैश्य, राप्रपा नेपालबाट अभय बस्नेत, स्वतन्त्र मेयरका उम्मेदवार दिनेश थापा र विकास बहादुर सिंहले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उम्मेदवारहरु उद्योग, वाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै समृद्ध नेपालगन्जका आधार भएकोमा सहमत हुँदै पूर्वाधार विकासका लागि लाग्ने प्रतिवद्धता जनाए ।

उम्मेदवारहरु नेपालगन्ज उपमहानगरपालिकाले व्यवसायीक कर वैज्ञानिक वर्गीकरणका आधारमा लिने विषयमा सहमत भए । त्यस्तै नेपालगन्जको व्यावसायिक उत्थानका लागि तस्करी नियन्त्रणमा विशेष पहल गर्ने, नेपालगन्जमा विशेष क्षेत्र पहिचान गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने, भारतीय पर्यटकलाई सहज रुपमा आवतजावतमासहजीकरण गर्न दिने, उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, छरितो र प्रविधिमैत्री बनाउने प्रतिवद्धता जनाएका छन् ।

यसैगरी सामाजिक विकास र आर्थिक सशक्तिकरणलाई विकासमा प्राथमिकता दिने, आयातमा निर्भर कृषि उपज विस्थापन गर्न कृषि क्षेत्रको व्यवसायिकरण गरी नेपालगन्जका लागि स्थानीय उत्पादनलाई बढावा दिने, हरित नेपालगन्ज बनाउने, नेपालगन्ज सहरलाई जडिबुटी प्रशोधन केन्द्रको हबको रुपमा विकास गर्ने, स्थानीय आवश्यकतामा आधारित औद्योगिक करिडोर निर्माण गर्ने र नगरको विकास योजना तर्जुमा र नीति निर्माण लगायतका विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्न तयार भएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले समृद्ध नेपालगन्ज निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाको सहयोग अपरिहार्य रहेको बताए । त्यसै कारणले संघले उम्मेदवारसंग प्रतिवद्धता खोजेको जानकारी दिए ।

संघका महासचिव चिरञ्जीवी ओलीले संघले पहिलो पटक समृद्ध बाँके निर्माणको अभियानलाई अघि बढाएको बताउँदै त्यसैको निरन्तरता स्वरुप समृद्ध नेपालगन्जका लागि उम्मेदवारको एजेण्डा माथि छलफल गराएको बताए ।