सुन्दर मृत्यु घटना : आयोगदेखि गृहको टोली रोल्पामा अनुसन्धान गर्दै

भाइलाई फसाएर मारे : सुन्दरका दाइ राजकुमार


सुन्दर मृत्यु घटना : आयोगदेखि गृहको टोली रोल्पामा अनुसन्धान गर्दै

न्यायका लागि संघर्षरत रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको आमा, दाई र भाउजु । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज २२ जेठ : नेपालगन्जका सुन्दर हरिजनको आत्महत्या घटनाले यतिबेला राष्ट्रिय मानवअधिकार आयोगदेखि गृहमन्त्रालयको ध्यान तानेकोछ । रोल्पा कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका नेपालगन्ज –२, घरबारीटोलका सुन्दरको मृत्युले आयोगदेखि गृहको ध्यान तानेको हो।

रोल्पा कारागारको घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयले छुट्टै बनाएको छानबिन समितिका अधिकारीहरु शनिबार रोल्पा पुगेकाछन् । यसअघि गृहमन्त्री बालकृष्ण खाणले जेठ १७ गते मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदनबुझाइसकेको छ । कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।

यसैबीच, सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु घटनाका सम्बन्धमा घटनाको अनुगमन गर्न बाँकेबाट अधिकारकर्मीको टोली रोल्पा पुगेर फर्किसकेकोछ । सोक्रममा रोल्पा कारागार, कारागारका कैदी, कारागार अधिकारी, स्थानीय प्रशासन, प्रहरी लगायतसंग भेटघाट र छलफल गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त घटनाको अनुगमनका लागी इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगन्ज उच्च अदालत बार एशोसिएसन मानवअधिकार तथा जनसरोकार समितिका संयोजक झबिन्द्र प्रसाद पौडेल समेतको टोली गत जेठ १८ गते बुधवार बिहान रोल्पा गएको हो ।

चोरी मुद्दामा रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको २०७९ जेठ ४ गते साँझ करिब ६.३० बजे कारागारकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि उनको मृत्युको घटना संकास्पद बनेको बाँकेका अधिकारकर्मी बताउँछन् ।

चोरी मुद्दाको पुर्पक्षका लागी कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम छुट्नु पर्नेमा निजको नामबाट हातहतियार तथा खरखजाना मुद्धाका बिजय बिक्रम शाह छुटेको र कैद भुक्तानी गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवारजनले आशंकाको रुपमा लिएपछि अनुगमन टोलीले पीडित परिवार लगायत घटना सम्बद्ध पक्षसंग भेटघाट गरि स्थलगत प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेकोछ ।

यस्तै सुन्दरको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेकोछ । आयोगको नेपालगन्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान शुरु गरेको हो। आयोगले यो घटनाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यता सुन्दर हरिजनको आमाले विजयविक्रम शाह, रोल्पा र बाँके कारागार तथा ती कार्यालयका कार्यालय प्रमुखहरु विरुद्ध जाहेरी समेत दर्ता गरेकी छिन् । मृतककी आमाले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका कार्यालय प्रमुख झंकरबहादुर रावलले बताए ।

यसअघि पत्रकार तथा नागरिक अगुवासँगको छलफलमा रावलले गम्भीर मानव अधिकार उलंघनको विषय भएकाले राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । आयोगले स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन सरकारलाई जिम्मेवार बनाउने गरी प्रतिवेदन दिने तयारी गरिरहेको छ ।

‘कैदीको पनि मानवअधिकार हुन्छ, जेलमा आएको व्यक्तिले किन आत्महत्या रोज्यो यो गम्भीर विषय हो’ रावलले बताए । आत्महत्या गर्ने सम्मको अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अनुसन्धान
भइरहेको भन्दै उनले भने, ‘प्रहरी हिरासत र कारागारमा समेत कैदी बन्दीहरु सुरक्षित छैनन् भन्ने यो घटनाले देखाएको छ ।’

‘भाइलाई फसाएर मारे’
सुन्दरका दाइ राजकुमार हरिजनका अनुसार भाइलाई तोकिएको जरिवानाबारे परिवारलाई कुनै जानकारी थिएनरु। उनी भन्छन्, ‘त्यति जरिवाना छ भन्ने थाहा भएको भए त ऋणधन गरेर भए पनि तिरिहाल्थेँ नि !’

सुन्दरका दाई राजकुमारले घटनाका बारेमा जानकारी दिदै भने –‘हामीलाई अदालतको फैसला नै थाहा छैन । अदालतले मागेको धरौटीको विषयमा पनि थाहै छैन, थाहा भएको भए ऋणधन गरेर भए पनि तिर्थेँ । ऊ सानै उमेरमा सानोतिनो मुद्दामा जेल गएको हो । जेल बसेको पनि चार वर्ष भइसक्यो । पहिला कुरा हुन्थ्यो, बोलिरहेकै हुन्थ्यो। आईतबार ६ हजार पैसा पठाइदिएको थिएँ। पैसा बुझेको पनि भन्यो ।’

‘भाइ आत्महत्या गर्ने मान्छे नै होइन । कुरा हुन्थ्यो, बोलिरहेकै हुन्थ्यो । प्रहरी, कारागार प्रशासनको मिलोमतोमा भाईलाई मार्नकै लागि रोल्पा ल्याएका रहेछन्, अन्ततः मारे ।’ राजकुमारले भने ।

घटना अनुसन्धानबाट खुलेको रहस्य

सुन्दर र विजय बिक्रमले बाँके कारागारमा कैद भुक्तान गरिरहेको बेला रोल्पा कारागारमा सरुवाका लागि बाँके कारागारमा निवेदन दिएको देखिन्छ । रोल्पा कारागार आफूहरुलाई पायक पर्ने र आफन्तसंग भेटघाट गर्न सहज हुने भएको भन्दै दिएको निवेदनका आधारमा कारागार विभागले उनीहरुलाई २०७७ मंसिर ८ गते सरुवा गरेको तर उनीहरुलाई रोल्पा कारागारमा कोही आफन्त भेट्न नआएको रोल्पा कारागारको अभिलेखले देखाउँछ ।

बाँके कारागारबाट रोल्पा ठाउँसारी गर्दा रोल्पा कारागारका कार्यालय सहयोगी नरेन्द्र चन्द र सुरक्षाकर्मीको तर्फबाट प्रहरी सहायक निरीक्षक हिरामणि चौधरीले बुझेको अभिलेख देखिन्छ । उनीहरुलाई बाँके कारागारका २ जना सुरक्षाकर्मी र कर्मचारीको रुपमा ड्राइभरले रोल्पा ल्याएका थिए ।

बाँकेबाट जेल सरुवा हुँदा नै साटफेर गर्ने सहमति गरेर आएको आशंका गर्न सकिने रोल्पा कारागारका एक कर्मचारी बताँउछन् ।

नेपालगन्जबाट रोल्पा जेल सरुवा भएको १ महिना २० दिन पछि २०७७ पुस २८ गते बेलुका साढे ४ बजे सुन्दर हरिजन रोल्पा नगरपालिका–४ का रेशम विकको जिम्मामा रोल्पा कारागारबाट छुटेको रोल्पा कारागारको अभिलेख देखिन्छ । उक्त मितिमा छुट्ने सुन्दर नभएर विजयविक्रम रहेको आत्महत्या पछि मात्रै खुलेको हो ।

कैद भुक्तानको समय ५/६ दिन मात्रै बाँकी रहेको भन्दै सुन्दरले परिवारका सदस्यलाई फोन गरेका थिए । त्यसका लागि २ जेठमा उनका दाजुले मनि ट्रान्सफरमार्फत उनलाई ६ हजार रुपैयाँ पठाइदिएका थिए ।

घटना यस्तो भयो ?

विजयविक्रम शाह र सुन्दर हरिजन एकैचोटि जेल परेका व्यक्ति हुन् । दुवैजना ०७५ मा एकै दिन जेल परेका हुन् । प्रहरीका अनुसार हातहतियार तथा खरखजना, अपराधिक लाभ र कर्तव्य ज्यान गरी ३ वटा मुद्धामा दोषी ठहर भई जेल परेका विजयविक्रमलाई बाँके जिल्ला अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।

शाह आपराधिक लाभ मुद्दामा जेल परेका हुन् । भने हरिजन चोरीको मुद्दामा जेल परेका थिए। हरिजन फरक–फरक दुई मुद्दामा जेल परेका हुन् । उनी १९ भदौ ०७६ देखि हिरासत हुँदै कारागार पुगेका थिए । जिल्ला अदालतको २१ माघ ०७६ को फैसालाले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त भइसक्थे ।

पहिलो मुद्दा खेपेलगत्तै उनलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको अर्को मुद्दा चल्यो । १० र ५० हजार रुपैयाँ धरौटी र एउटा मुद्दामा एक वर्ष र अर्कोमा तीन महिना कैदको फैसला तोकेको थियो । उनी ०७६ भदौ १९ देखि हिरासत हुँदै कारागार पुगेका थिए । पहिलो मुद्दाको फैसला २१ माघ ०७६ मा भएको थियो । एक वर्ष कैद र १० हजार जरिवाना हुने गरी । यसअनुसार जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त हुन्थे। तर, लगत्तै उनमाथि दोस्रो मुद्दा चल्यो।

१२ फागुन ०७५ को फैसलाबमोजिम उनले तीन महिना कैद र ५० हजार जरिवाना तिर्नुपथ्यो । पहिलो मुद्दाबाट निस्केपछि उनलाई २३ असोज ०७७ देखि दोस्रो मुद्दामा राखियो । २३ पुसमा उनको दोस्रो मुद्दाको पनि कैद सजाय भुक्तान भइसक्थ्यो। जरिवाना नतिर्दा पनि उनी १० असार ०७८ मै छुटिसक्थे । तर, चोरी कमजोर मुद्दा हो। यस्ता मुद्दामा ५० प्रतिशत कैद भुक्तानी गरे असल चालचलनका आधारमा बाँकी सजाय छुट पनि हुन्छ ।

तर, जरिवानासमेत गर्दा पनि गत वर्ष नै भुक्तान भइसकेको सजायमा उनी निरन्तर जेलमा थिए। किनकि आफ्नो नाममा नभई उनी शाहको नाममा जेल बसेका थिए। शाहलाई पाँच वर्ष कैद सजाय भएको थियो। शाह भने हरिजन बनेर दुई वर्षअघि नै जेलमुक्त भए ।

थप समाचार

सुन्दर मृत्यु घटना : छानबिन गर्न गृहले बनायो समिति, रोल्पा जाँदै अधिकारकर्मीको टोली