बन्दुकसहित सैनिक पोशाकमै समातिएका शिकारी ‘सेटिङ’मा भगाइयो

घटना गुपचुप, भित्रभित्रै छानबिन


बन्दुकसहित सैनिक पोशाकमै समातिएका शिकारी ‘सेटिङ’मा भगाइयो

बन्दुकसहित सैनिक पोशाकमै निकुञ्जबाट समातिएका शिकारी बमबहादुर पल्ली मगर ।

नेपालगन्ज ३ असार : बाँके राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै समातिएका शिकारीलाई ‘सेटिङ’मा हिरासतबाट भगाइएको छ । गत जेठ २७ गते बाँके राष्ट्रिय निकुञ्जको प्रगतिनगर पोष्टबाट निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले सेनाकै पोशाकमा पक्राउ परेका शिकारी बमबहादुर पल्ली मगरलाई शिकारी गिरोहको ‘सेटिङ’मा भगाइएको हो ।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पेट्रोल टोलीले शिकारी बमबहादुरलाई हतियारसहित पक्राउ गरेको थियो । उनी सेनाको कम्ब्याट ड्रेसको टि–सर्ट र हाफ पाइन्टमा भेटिएका थिए ।

कोहलपुर नगरपालिका वडा नम्बर–१३ सिम्री बस्ने ५४ वर्षका बमबहादुर पक्राउ परेसंगै उनलाई छुटाउन शिकारी गिरोह निकुञ्ज कार्यालय पुगेको थियो । तर, सेनासहितको गस्ती टोलीले पक्राउ परेकाले वन प्रशासनले बमबहादुरलाई त्यसै छाड्ने हिम्मत गरेन । शिकारीको गिरोह र निकुञ्ज प्रशासनबीच बनेको योजना पश्चात बमबहादुरलाई रातारात हिरासतबाट भगाइयो ।

निकुञ्ज स्रोतका अनुसार बमबहादुरलाई हिरासतबाट भगाउने घटनामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह, सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरी र रेन्जर यमराज रावत संलग्न रहेको दावि छ ।
उनीहरु तीन जना र शिकारीको गिरोहबीच मोटो रकम लेनदेन भएपछि बमबहादुरलाई हिरासतबाट भगाइएको निकुञ्जका एक कर्मचारीले परिचय गोप्य राख्ने शर्तमा बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘श्याम, पुण्डनारायण र यमराज सरको मिलेमतोमा शिकारी पल्लीलाई भगाइएको हो’, ती कर्मचरीले अगाडी थपे, ‘यो घटनाको निष्पक्ष छानबिन भयो भने उहाँहरु बच्ने आधार देख्दिन ।’

ती कर्मचारीका अनुसार बमबहादुर पक्राउ परेपछि शिकारीको गिरोह निकुञ्जको कार्यालयमै आएको थियो । बमबहादुरलाई छाड्न निकुञ्जका कर्मचारी र शिकारीको गिरोहबीच लेनदेनमा कुरा मिलेपछि ‘सेटिङ’ मै हिरासत कक्षको ढोकाको लक लुज बनाइनुका साथै उक्त रात हिरासत कक्षमा कसैको डियुटी नराखिएको निकुञ्ज स्रोतको दावी छ ।

बमबहादुरलाई भगाउने योजना अनुसार जेठ २७ गते राति हिरासत कक्षको ढोकाभित्र रहेका नट रेन्चले लुज बनाइएको थियो ताकि भित्रबाट नट खोलेपछि बाहिरको लक सजिलै खुलोस् । स्रोतका अनुसार हिरासत कक्षमा रहेको च्यानल गेटमा समेत ताला लगाइएको थिइएन । बमबहादुरले लुज भएका हिरासत कक्षको ढोका हातले सहजै खोली भागे । नट लुज बनाउने कार्यमा रेञ्जर रावत स्वयम् संलग्न भएको स्रोतको दावि छ ।

निकुञ्ज स्रोतका अनुसार बमबहादुर पक्राउ परेका दिन (जेठ २७ गते) राति हिरासत कक्षमा राजु विक नामका कर्मचारीको ड्युटी थियो । तर, सो दिन विक ड्युटी गर्न हिरासत कक्षमा गए पनि निकुञ्ज प्रमुख संरक्षण अधिकृत साहको निर्देशनमा रेन्जर रावतले ‘आज डियुटी गर्न पर्दैन’ भन्दै विकलाई फर्काइ दिए ।

स्रोतका अनुसार बमबहादुर जेठ २८ गते बिहान करिब २ बजेको समयमा हिरासतबाट भागेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जले आफ्नो हिरासतबाट शिकारी भागेको घटनालाई गुपचुप राख्ने प्रयास गरेको छ । यसअघि निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले बमबहादुर पक्राउ परेको र हिरासतमै रहेको सेतोखरीलाई जानकारी दिएका थिए ।

हतियारसहित सेनाको पोशाकमै शिकारी बमबहादुर पक्राउ परेको पुष्टि गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले घटनाको अनुसन्धान भइरहेकोले थप विषय बुझ्न निकुञ्जका मुद्दा फाँट कर्मचारी मोहन सापकोटासंग सम्र्पक गर्न सेतोखरीलाई बताएका थिए ।

सेतोखरीले निकुञ्जका मुद्दा फाँट कर्मचारी सापकोटासंग टेलिफोन सम्पर्क गर्दा सेना र निकुञ्ज प्रशासनको नियमित गस्तीका क्रममा बमबहादुरलाई पक्राउ गरिएको र हिरासतमै राखिएको बताएका थिए ।

सोबेला निकुञ्ज मुद्दा फाँटका कर्मचारी सापकोटाले सेनाले लगाउने पोशाक जस्तै लुगा लगाएर शंकास्पदरुपमा निकुञ्ज मध्यवर्ती क्षेत्रमा भेटिएका बमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको जानकारी दिएका थिए ।

निकुञ्जको हिरासतमा रहेका शिकारीलाई भगाएपछि यतिबेला निकुञ्जको कार्यालयमा अन्य पदमा कार्यरत कर्मचारीलाई प्रवेश निषेध गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी कुननारयाण चौधरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएकोछ । उक्त समितिमा नेपाली सेनाको श्री अर्जुनबाण गणका एक जना क्याप्टेन समेत रहने गरि ५ सदस्यि छानविन समिति गठन गरिएको हो । उक्त समितिले ७ दिनभित्र प्रतिबेदन पेश गर्ने गरि जिम्मेवारी दिइएकोछ ।

थप समाचार

बाँके निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै समातिए शिकारी