राप्तीसोनारीमा एमालेको विरोध कायमै, गाउँसभा अन्यौलमा


राप्तीसोनारीमा एमालेको विरोध कायमै, गाउँसभा अन्यौलमा

File Photo

बाँके (राप्ती सोनारी) : राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभा अन्तर्गत आज बस्ने भनिएको दोस्रो बैठक अझैं बस्न सकेको छैन । सभामा आवश्यक पर्ने गणपूरक संख्या नपुगेपछि गत असार १० गते सभा स्थगित भएको थियो ।

एमाले निकट जनप्रतिनिधीले बजेट विनियोजनको विषयमा असन्तुष्टि जनाउँदै सभा बहिष्कार गरेका थिए । सभाको दोस्रो बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । सभा बस्ने विषयमा अहिले कार्यपालिकाको बैठक बसिरहेको छ ।

यसअघि राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभा केहीबेर बसेर स्थगित भएको थियो । सभामा आवश्यक पर्ने गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभाका सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार स्थगित भएको सभा आज (असार १४ गते) बिहान ११ बजे पुनः बस्ने तय गरिएको थियो ।

बजेट विनियोजनका विषयमा नेकपा एमाले निकट जनप्रतिनिधीले असहमती जनाउँदै विरोध गरेपछि दोस्रो पटक बस्ने भनिएको गाउँसभा थप अन्यौलमा परेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघिको बसेको सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका गरी १९ जना जनप्रतिनिधीले सहभागिता जनाएका थिए । गाउँ सभामा सभाध्यक्ष सहित ४७ जना सदस्य छन् । यसमध्ये एमालेका २७ र काँग्रेस, माओवादी तथा राप्रपाका २० जना सदस्य छन् ।

गाउँपालिका अध्यक्ष पौडेलले यही असार ८ गते नीति तथा कार्यक्रम र बजेटलाई कार्यपालिका बैठकबाट निर्णय गरिएको र एमालेका जनप्रतिनिधी आफैंले गरेको निर्णय विपरित सभामा विरोध कायमै राखेको बताए ।

‘आफैले गरेको निर्णयलाई नमान्नु र निर्णयबाट पछाडी हट्नु दुर्भाग्यपूर्ण हो, उहाँहरुमा बहुमतको दम्भ र अहंकार देखियो,’ पौडेलले भने । गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफू सबैसँग सहमति र सहकार्य गर्न तयार रहेको उनले बताए ।

सभाका सदस्य समेत रहेका वडा नम्बर–२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले बजेट बाँटफाँटका विषयमा कार्यपालिकाले यसअघि गरेको निर्णय परिवर्तन भएकाले असहमती जनाउनु परेको जिकिर गरे । ‘सभा वहिष्कार गर्ने हाम्रो नियत होइन, कार्यपालिकाले गरेको निर्णय अनुसार अगाडी बढौं भन्ने हो,’ उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँ सभामा प्रस्तुत गर्ने बजेटका विषयमा यसअघि लामो समय खर्चेर कार्यपालिका बैठकले निर्णय गरेको स्मरण गराउँदै कार्यपालिकाले गरेको निर्णय अनुसार नै गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने सूची रहेको बताए ।

‘कार्यपालिका बैठकमा उहाँहरुले जे निर्णय गर्नु भएको थियो, त्यही निर्णय अनुसार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी थियो, तर एक्कासी उहाँहरुले वडाको बजेट बढाउनुपर्ने कुरा उठाउनु भयो र त्यही निहुँमा सभामा अनुपस्थित हुनुभयो,’ डाँगीले भने ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाँको बजेट सिलिङ दिइएको छ ।

वडाको जनसंख्या र भुगोल हेरेर १ करोड ६० लाखदेखी १ करोड ९० लाख रुपैयाँ सम्म बजेट दिइएको छ । गाउँसभाले कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँको बजेट ल्याउने तयारी छ । नियम अनुसार गाउँसभा सञ्चालनका लागि पहिलो र दोस्रो पटक ५१ प्रतिशत सदस्य संख्या अनिवार्य रुपमा पुग्नुपर्छ ।