करोडौं मूल्य पर्ने ‘अफिमको बीउ’ जमुनाह प्रहरीद्वारा पक्राउ


करोडौं मूल्य पर्ने ‘अफिमको बीउ’ जमुनाह प्रहरीद्वारा पक्राउ

नेपालगन्ज १७ असार : अफिमबाट लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने करोडौं मूल्यको ‘अफिमको बीउ’ ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) माधव रिजालले नियन्त्रणमा लिन सफल भएकाछन् ।

कण्टेनरसहित ठूलो मात्रामा लागुऔषध ‘अफिमको बीउ’ नेपालदेखि भारततर्फ तस्करी भइरहेको खबर पाएका जमुनाह प्रहरी प्रमुख रिजाल शुक्रबार विहानैदेखि खटेका थिए ।

नेपालबाट भारतर्फ तस्करी हुन लागेको ठूलो मात्रामा लागुऔषध ‘अफिमको बीउ’ सहितको आरजे–०९ जिबी–४५४२ नम्बरको भारतीय कण्टेनर विहानैदेखि ढुकेर बसेका रिजालले शुक्रबार विहान साढे ९ बजे नियन्त्रणमा लिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुक्रबार नेपाल–भारत सीमानाका जमुनाहको दृष्य सामान्य थियो । नियमित झैं ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) माधव रिजाल ड्युटिमा खटेका थिए । सोहीक्रममा उनको मोबाईलमा कसैको फोन आउँछ ।

उक्त फोनमा रिजाललाई भारतीय नम्बरको कण्टेनरमा नेपालबाट भारतर्फ ठूलो परिमाणमा केही तस्करी हुँदैछ भन्ने सूचना आउँछ । सूचना पाएलगत्तै जमुनाह प्रहरी प्रमुख सीमामै कण्टेनर ढुेकेर बस्छन् ।

नेपालबाट भारतर्फ जाने सबै सवारी साधनमाथि कडा निगरानी गरिरहेका रिजालका सामु भारतीय नम्बर प्लेटको कण्टेनर आइपुग्छ । त्यो कण्टेनर अरु कुनै नभएर विहानै रिजालले पाएको सूचनावाला कण्टेनर हुन्छ । तर, त्यो कण्टेनर मालबाहक सावरीसाधन आउजाउ गर्न बनाइएको रुटभन्दा फरक सीमामा भएको प्रहरी चेकिङ्गको रुट भएर भारत जाने ठाउँमै रोकिन्छ ।

सीमानजिकै प्रहरी चेकिङ्ग बिट नजिक उक्त कण्टेनर रोकिन्छ । कण्टेनर रोकिए लगत्तै कण्टेनरका चालक र सहचालक उक्त कण्टेनरबाट हाम फालेर भाग्छन् । त्यसपछि रिजालले विहानै आफूले पाएको सूचना अनुरुपकको कण्टेनर नियन्त्रणमा लिन्छन् ।

सीमानाका जमुनाहबाट नियन्त्रणमा लिइएको उक्त कण्टेनर रिजालले ईलाका प्रहरी कार्यालय जमुनाहमा ल्याउँछन् । रिजालले भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकार बोलाउँछन् ।

सबैजनाको उपस्थितीमा कण्टेनरको लक खोली भित्र हेर्दा सुन, पैसा वा लागुऔषध हुनसक्ने आँकलन गरेका रिजाल लगायत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकार सबै जना चकित पर्छन् । किनभने भित्र कण्टेनर पुरै खाली थियो ।

कण्टेनर भित्र पुरै खाली देखेपछि आश्चर्यपरेका रिजालसहित भन्सार कार्यालय, जिल्ला प्रहरीका प्रतिनिधी र पत्रकारहरुबीच एकछिन खैलाबैला हुन्छ । तर, कण्टेनरको बाहिरी लम्बाई अनुसार भित्री लम्बाई लगभग आधा कम पाइएपछि उक्त कण्टेनरको घटनामा ट्विष्ट आउँछ ।

उक्त कण्टेनर सुरुवातमै निर्माण गर्दा बडो चलाखीपूर्णरुपमा भित्र भाग दुई पार्टमा बाँडिएको थियो । कण्टेनरको बीचभागदेखि ड्राइभरतर्फको भागसम्म फलामको वाल(पार्टेसन) बनाइएको थियो । सो भागलाई हेर्दा कण्टेनरको भित्री भाग सकियो भन्ने जोसुकैले अनुमान लगाउन सक्दथे । उक्त वालमा करिब ४ फिट लम्बाई चौडाई भएको सानो ढोका बनाइएको थियो । त्यो ढोकामा लक (ताला) लगाइएको थियो ।

फलामको वाल(पार्टेसन) लगाइएको उक्त कण्टेनर हेर्दा तस्करी गर्न बनाइएको देखिन्छ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) रिजालले घनको सहायतामा उक्त ढोकाको लक फोडेर भित्र पसे । प्रहरीले फुटाएको उक्त पार्टेसनभित्र ह्वाईट पप्पी सिडस् प्रडक्ट अफ टर्की लेखिएको सिल प्याक गरि राखिएको २५० थान बोरा भेटायो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त बोराभित्र लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने ‘अफिमको बीउ’ भेटियो ।

बरामद भएको ठूलोमात्राको उक्त ‘अफिमको बीउ’ हो वा होइन पत्ता गर्न प्रहरीले परीक्षणका लागि पठाएको छ । भने कण्टेनर नियन्त्रणमा राखी घटनाको सुक्ष्म अनुसन्धान गरिरहेकोछ ।

लागुऔषध कारोबारीका गिरोहले भारतबाट अफिमको बीउ नेपालका दाङ, सल्यान, जाजरकोट, दैलेख, रोल्पा र रुकुम लगायतका क्षेत्रमा पठाइ अफिमको खेती गर्छन् । अफिमबाट उत्पादन भएको अफिमको चोप भारत तस्करी गरि ब्राउन सुगर बनाइन्छ । र, पछि त्यही ब्राउनसुगर नेपालका विभिन्न नाका भएर नेपाल तथा अन्य मुलुकमा तस्करी हुने गरेकोछ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले कण्टेनरसहित बरामद उक्त बस्तु परीक्षणका लागि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लागुऔषध ‘अफिमको बीउ’ हुनसक्ने भन्दै सोही अनुरुप अनुसन्धान अघि बढाइएको सेतोखरीलाई जानकारी दिए । उनले भने –‘उक्त कण्टेनरबाट २५० बोरा प्याकिजिङ्ग गरिएको अवस्थामा बस्तु भेटिएकोछ । लागुऔषध अफिमको बीउ हुनसक्छ की भन्दै सोही अनुसार अनुसन्धान अघि बढाएकाछौं ।’

‘राजश्व छलीका लागि समेत लुकाईछिपाई उक्त बस्तु लैजान लागेको भन्ने देखिन्छ’ डिएसपी न्यौपानेले सेतोखरीलाई भने–‘बरामद उक्त बस्तु नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएका छौं, परीक्षणपश्चात आउने प्रतिबेदनपछि मात्र के हो भनेर भन्न सकिन्छ ।’

बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले उक्त कण्टेनर छाडेर भाग्ने कण्टेनरका चालक र सहचालकको खोजी ब्यापक गरिएको बताए ।