पैसा कमाउन फन पार्कमा ‘ज्यानमारा स्विमिङ्ग पुल’


पैसा कमाउन फन पार्कमा ‘ज्यानमारा स्विमिङ्ग पुल’

नेपालगन्ज बालेगाउँस्थित मेरो प्लानेटमा सञ्चालित स्विमिङ पुल ।

नेपालगन्ज २८ असारः गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । पौडी खेल्नु मनोरञ्जनका साथसाथै शारीरिक अभ्यास पनि हो । पौडी खेल्दा शरीरका विभिन्न अंग एकसाथ चल्छन् । एकै पटक शरीरका विभिन्न भागको एक्सरसाइज हुन्छ । र, फोक्सो–मुटुलगायत अंग स्वस्थ राख्न पौडीले मद्दत गर्छ । त्यसैले आजभोलि शहर बजारमा स्विमिङ जाने चलन बढ्दो छ ।

बाँकेको नेपालगन्ज लगायत कोहलपुरमा सञ्चालित फनपार्कमा व्यावसायिक पौडी पोखरी खुलेकाछन् । बढ्दो पौडी पोखरीसँगै यसको सञ्चालनमा अपनाउनुपर्ने मापदण्ड नअपनाउँदा पौडी खेल्नेक्रमा सर्वसाधरणको अनाहकमा ज्यान समेत जाने गरेकोछ ।

असार अन्तिम सातासम्म पर्याप्त पानी नपरेका कारण नेपालगन्जमा उखरमाउलो गर्मी बढेको छ । अधिक गर्मी बढेका कारण बाँकेमा रहेका फनपार्कमा सञ्चालित स्विमिङ पुलमा सर्वसाधरणको बढ्दो भीड छ ।
गर्मीमा सञ्चालित यस्ता स्विमिङ पुलहरुले राम्रो आय आर्जन गरिरहेको भएता पनि पर्याप्त सुरक्षाको प्रबन्ध नगराउँदा यी पौडीस्थलहरु जोखिमपूर्ण बनेकाछन् ।

यसरी सञ्चालनमा आएका पौडी पोखरीका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक सामाग्री हुनुपर्छ तर, जसरी पनि पैसा कमाउन तल्लिन यहाँका स्विमिङ पोखरी सञ्चालकले भने उक्त कुराको प्रबन्ध नगरेरै स्विमिङ पुल सञ्चालन गरिरहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

सर्वसाधरणसंग मोटो रकम असुल्ने तर, यसको सञ्चालनमा अपनाउनुपर्ने मापदण्ड नअपनाउँदा बाँकेका विभिन्न फनपार्कमा सञ्चालित स्विमिङ्ग पुल ‘ज्यानमारा’ साबित भएकोछ ।

नेपालन्जको बालेगाउँस्थित मेरो प्लानेटको स्विमिङ्ग पुलमा पौडी खेल्नेक्रममा आईतबार नेपालगन्जका एक बालकको डुबेर मृत्यु भएपछि स्विमिङ्ग पुल सञ्चालकले ठूलो लापरबाही गरेको पुष्टि भएकोछ ।

आफ्ना साथीभाईसंगै गर्मी छल्न नेपालगन्जको बालेगाउँ स्थित मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्न गएका नेपालगन्ज नम्बर–११ का चुन्नु जसगढका छोरा १४ वर्षिय *अल्तमस जसगढको डुबेर मृत्यु भयो ।

अल्तमसको मृत्यु भए लगत्तै बाँके प्रहरीले मेरो प्लानेटका जिएम पदम सुवेदीसहित गार्डद्वय प्रतिभा बुढाक्षेत्री र टेकबहादुर पुनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए ।

प्रहरी निरीक्षक पालका अनुसार मेरो प्लानेटका जिएम सुवेदीसहित पक्राउ परेका तीन जनालाई मृतक परिवारलाई क्षतिपूर्ती दिने सहमतिमा सोमबार मेरो प्लानेटका प्रतिनिधीलाई जिम्मा लगाइएको हो ।

फनपार्कले स्विमिङ्ग पुल बनाउने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा सुरक्षा जोखिम बढेको हो । फन पार्कमा निर्माण गरिएका स्वमिङ्ग पुलमा सुरक्षाका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक उद्दार सामाग्री छैनन् । पैसा कमाउन खोज्ने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा जोखिमसंगै दुर्घटना हुने गरेकोछ ।

थप समाचार

मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु

*यसअघि मृतक बालकको नाम फरक पर्न गएकोमा सच्चाइएकोछ । -सं.