नेपालगन्जमा जडान भएका सीसीटीभि चल्दैनन्, प्रहरीलाई थप १६ थान सीसीटीभि प्रदान


नेपालगन्जमा जडान भएका सीसीटीभि चल्दैनन्, प्रहरीलाई थप १६ थान सीसीटीभि प्रदान

नेपालगन्ज ४ साउन : नेपालगन्जको समग्र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भन्दै करिब ६ वर्ष अघि सीसीटीभि जडान गरिए ।

नेपालगन्जका मुख्य चोक तथा नाकामा जडान गरिएका सीसीटीभिको सञ्चालन, व्यवस्थापनका लागि बहस पनि भयो । अन्ततः जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहने गरि सीसीटीभि जडान गरियो ।

नेपालगन्जका उद्योगी, व्यवसायी र स्वयम नगरपालिकाको समन्वय र सहकार्यमा उपमहानगरका विभिन्न ५४ स्थानमा ५४ थान सीसीटीभी क्यामरा जडान गरिए । समयसंगै ती सीसीटीभिको उचित मर्मत, संभार तथा ब्यवस्थापन नहुदाँ यतिबेला अधिकांश सीसीटीभि चालु अवस्थामा छैनन् ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनका लागि भन्दै जडान गरिएका यी सीसीटीभिले काम गर्न छाडेपछि नेपालगन्जमा घटेका घटनामा सहयोगी र प्रमाणका लागि सीसीटीभिको सहयोग लिन खोज्दा थुप्रै घटनाहरु असफल भए । किनकी घटनास्थल आसपास जडान गरिएका यी सीसीटीभि चालु अवस्थामा थिएनन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसरी लाखौंं रकम खर्चेर जडान गरिएका सीसीटीभि काम नलाग्ने भएपछि नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयले खुबै आलोचना खेप्नु प¥यो । पछि बजेट व्यवस्थापन गरेर जनताको आँखामा छारो हाल्न मर्मत गरेको ढोंग रचियो ।

बेकामे र प्रयोगबिहीन बनेका लाखौं मूल्य खर्चेर नेपालगन्जका चोक तथा नाकामा जडान गरिएका सीसीटीभिको उचित मर्मत र ब्यवस्थापन हुननसकिरहेको अवस्थामा पुनः लाखौं मूल्य खर्चेर सीसीटीभि जडान गरिन लागेकोछ ।

नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकाले अत्याधुनिक सीसीटीभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार उक्त सीसीटीभि हस्तान्तरण गरेका हुन् ।

नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सीसीटीभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा नगरप्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सीसीटीभी आवश्यक रहेको भन्दै यसलाई नियमित सञ्चालनका लागि उपमहानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताए ।

हस्तान्तरण गरिएका सीसीटीभी क्यामरा तत्कालै जडान गरिने भएको छ । हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपाने, ब्यवसायी सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।