श्री एयरको गम्भीर लापरबाही : ईन्जिनियरलाई नजचाएरै जहाज उडाउँछ

फ्री फ्लाई जाँचका लागि नेपालगन्जमा हामीसँग इन्जिनियर छैनन् : श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख चौधरी


श्री एयरको गम्भीर लापरबाही : ईन्जिनियरलाई नजचाएरै जहाज उडाउँछ

File Photo

नेपालगन्ज २० साउन : नेपालगन्जदेखि काठमाडौंका लागि दैनिक पाँच वटा उडान भर्दै आएको श्री एयरले गम्भीर लापरबाही गर्ने गरेको खुल्न आएकोछ ।

नियम अनुसार कुनैपनि जहाज उड्नु भन्दा अगाडी इन्जिनियरले ‘फ्री फ्लाई’ चेकजाँच अनिवार्य रुपले गर्नुपर्छ । तर, नेपालगन्जबाट उडान भर्ने श्री एयरको जहाजले चेकजाँच नगरेरै उडान भर्ने गरेको रहस्य बाहिरीएको हो ।

पार्किङ अभावका कारण उडान सुरक्षामा बाधा पुग्न थालेपछि असार पहिलो साता पर्यटन मन्त्रालयले जहाज र हेलिकप्टरलाई अनुमति लिएका विमानस्थलमा स्थानान्तरण गराउन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा बाहिरका विमानस्थलमा पनि कम्पनीहरुले जहाज अनिवार्य रुपमा राख्नुपर्ने निर्णय पश्चात श्री एयरले पनि हरेक दिन बेलुका नेपालगन्जमा एउटा जहाज राख्ने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

हरेक दिन बेलुका यहाँ(नेपालगन्जमा) रात्रिबिसान (नाइट स्टप)बस्ने जहाज ५० सिटे जेट इन्जिनयुक्त जहाज हो । तर, नेपालगन्जमा बास बस्ने उक्त जहाजले इन्जिनियरबाट जाँच नगराएरै यहाँबाट पहिलो उडान भर्ने गरेको पाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार कुनैपनि कम्पनीले आफ्नो जहाज इन्जिनियरलाई राम्ररी जाँच गराएर मात्र उडाउनुपर्छ । तर, श्री एयरलाइन्स कम्पनीसँग ‘फ्री फ्लाई’ जाँच गर्ने इन्जिनियर नेपालगन्जमा उपलब्ध छैनन् । जसले गर्दा बिहानको पहिलो उडान पाइलटले सधैं जोखिम मोलेर उडाउने गरेका छन् ।

श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जहाज चेकजाँच गर्नलाई आफ्नो कम्पनीसँग नेपालगन्जमा इन्जिनियर उपलब्ध नरहेको स्वीकार गर्छन् ।

‘नेपालगन्जमा हामीसँग इन्जिनियर छैनन्, काठमाडौंमै इन्जिनियरले जहाजको फ्री फ्लाई जाँच गरेर पठाउँछन्,’ उनले भने । नेपालगन्जमा हरेक दिन ५० सिटे ‘जेट इन्जिनयुक्त’ जहाज बस्ने गरेको बताउँदै उनले भने, ‘बेलुका बास बस्ने यो जहाजको सबै चेकजाँच काठमाडौंमा इन्जिनियरले गरेर पठाउँछन्, भोलीपल्ट बिहान यहाँ पुनः जाँच गर्नुपर्दैन ।’

नेपालगन्ज विमानस्थल कार्यालय स्रोतका अनुसार ‘श्री एयरको बेलुका अन्तिम उडानको जहाज नेपालगन्जमा आएर बास बस्छ, तर भोलीपल्ट बिहान इन्जिनियरको परीक्षण बिना नै पहिलो उडान गरिन्छ ।’

विमानस्थल स्रोतले सेतोखरीलाई भन्यो ‘जहाज उडानमा श्री एयरलाइन्स कम्पनीले गम्भीर लापरबाही गरिरहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरण पनि आँखा चिम्लिएर बस्दै आएको छ ।’

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले कतिपय जहाजले काठमाडौंमै २४ घण्टा सम्मका लागि इन्जिनियरसँग ‘फ्री फ्लाई’ जाँच गराउने गरेको बताए ।

श्री एयरसँग नेपालगन्जमा इन्जिनियर उपलब्ध भए/नभएको विषयमा आफुलाई जानकारी नभएको उनले सुनाए । ‘यस विषयमा हामी केही भन्न सक्दैनौं,’ उनले भने ।

विमानस्थल कार्यालयका प्रमुख खनालका अनुसार बिहीबार नेपालगन्जमा ग्राउण्डेड गरिएको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

काठमाडौंबाट बिहीबार नै आइपुगेको इन्जिनियर(प्राविधिक) टोलीले शुक्रबार पनि जहाज चेकजाँच गरेको छ । नेपालगन्ज–काठमाडौंका लागि दैनिक पाँच वटा उडान भर्दै आएको श्रीएयरले बिहीबार भने ४ वटा उडान भर्ने तय गरेको थियो ।

उक्त जहाजमा समस्या आउँदा बिहीबार श्री एयरका ३ वटा मात्र उडान भएका थिए । विमानस्थल कार्यालयका अनुसार प्राविधिक समस्या देखिएको उक्त जहाज बिहीबार बिहान काठमाडौंबाट यात्रु लिएर नेपालगन्ज आइपुगेको थियो । उक्त जहाजलाई काठमाडौंमा इन्जिनियरले चेकजाँच गरेर मात्र उडाइएको कम्पनीको दाबी छ ।

७९ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित कुल ८३ जना लिएर उडेको श्री एयरको जहाजभित्र एक्कासी धुवाँ निस्केपछि बिहीबार नेपालगन्जमा आकस्मिक अवतरण गराइएको थियो ।

नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको नाइन एन–एएनएफ–४३२ नम्बरको जहाज बिहीबार बिहान ९ बजेर १५ मिनेटको तालिका उडान भर्नुपर्ने भएपनि जहाज केही समय ढिलो गरी ९ बजेर ४९ मिनेटमा मात्र उडेको थियो ।

नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार जहाजले करिव १० किलोमिटर दुरी पार गरिसकेको थियो, लगत्तै जहाजको शौचालय भित्रबाट धुवाँ निस्केपछि ७ मिनेटमै पुनः नेपालगन्ज बिमानस्थलमै फर्काएर ल्याण्ड गरियो ।

चालकको सावधानीका कारण जहाज ठुलो दुर्घटना हुनबाट जोगियो र यात्रारत सबै सकुशल भए ।

नेपालको आन्तरिक उडानमा नौ वटा व्यावसायिक उडान गर्ने वायुसेवाका ५२ वटा विमान र चार्टर तथा उद्धार सेवामा ११ वटा हेलिकप्टर कम्पनीका ३८ वटा हेलिकप्टर दर्ता छन् ।

थप समाचार

विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि श्री एयरको जहाज ग्राउण्डेड