जुम्ला २२ साउन : जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् ।
यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् ।
काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।
पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । भदौ ८ गतेअघि जोसुकै किसानले स्याउ टिपेको भेटिएमा पालिकाले दिने अनुदानलगायतका अन्य सेवाबाट वञ्चित गरिने पातारासी गाउँपालिकाले जनाएको छ ।
स्याउको गुणस्तर कायम राख्न किसानलाई उचित मूल्य दिलाउन तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भने भदौ १५ गतेपछि मात्रै स्याउ टिप्न पाउने निर्णय गरेका छन् । तिला, कनकासुन्दरी, गुठीचौर गाउँपालिकाले भदौ १० गतेअघि मात्रै किसानलाई स्याउ टिप्न परिपत्र गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
हिमा गाउँपालिकाले भदौ १ गते सडक क्षेत्र र भदौ ५ गतेपछि मात्रै माथिल्लो क्षेत्रको स्याउ टिप्न पाउने निर्णय गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए ।
परिपक्व नहुँदै स्याउ बजारमा गएपछि जुम्ली स्याउले उचित मूल्य नपाउने भएकाले राम्रोसँग स्याउले दिने प्रकार र आकारको ख्याल गरी उपयुक्त समयमै मात्र स्याउ खरिद गर्न स्याउ व्यापारीलाई सुझाव दिइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्याक्रम एकाइ जुम्लाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउखेतीमा निर्भर छन् । -रासस
थप समाचार
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’