कोहलपुर लागुऔषधको ‘अखडा’, ४ महिनामा नामुद कारोबारीसहित २४ पक्राउ

लागुऔषधको मुद्दा उच्च प्राथमिकतामा राखेर अघि बढेका छौं : डिएसपी मल्ल


कोहलपुर लागुऔषधको ‘अखडा’, ४ महिनामा नामुद कारोबारीसहित २४ पक्राउ

नेपालगन्ज २३ साउन : लागुऔषध कारोबारी र सेवनकर्तामाथि प्रहरीले कडाई गरेपछि पछिल्लो समय बाँकेको कोहलपुर क्षेत्र लागुऔषधको गढका रुपमा विकास भएकोछ ।

प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोले नेपालगन्जमा कडाइ गरेपछि पछिल्लो समय बाँकेको कोहलपुर क्षेत्रमा यसको कारोबार र सेवन बढेको हो ।

नेपालका ठूला सहरमा लागुऔषधी सप्लाई गर्ने नेपालगन्जबाट यसको कारोबार कोहलपुर क्षेत्रमा बढ्न थालेको हो । नेपालगन्जमा हुन नसकेका कतिपय ‘डिल’ र हस्तान्तरण कोहलपुरमा हुने गर्दछ ।

पछिल्लो समय बाँकेको कोहलपुरबाट लागुऔषधका ‘नामुद’ कारोबारीसहित तीन जना पक्राउ परेसंगै यतिबेला बाँकेको दोस्रो ठूलो बजार कोहलपुर लागुऔषधको ‘अखडा’ बनेको पुष्टि हुन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–२ घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर– ११ एनटिभी रोड स्थित डेविट खाजा घर सञ्चालन गर्दै आएकी ६६ वर्षीया मिना मल्ल, ३७ वर्षीय उनका छोरा राजेश मल्ल र सोही स्थान बस्ने २७ वर्षीय रमेश खनाललाई कोहलपुर प्रहरीले ३ ग्राम ४० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्ने डेविट खाजा घर सञ्चालक मिना मल्ल कोहलपुर क्षेत्रको नामुद लागुऔषध कारोबारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताउँछन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा रेकर्डले पनि कोहलपुर क्षेत्रमा लागुऔषधीको मुद्दा बढी आएको पुष्टि गरेकोछ । कोहलपुर क्षेत्रमा लागुऔषधको मुद्दासंगै यसको सेवन र कारोबारी बढेपनि ईलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताले प्रहरीलाई सफलता समेत प्राप्त भएकोछ ।

ईलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले लागुऔषधी नियन्त्रणमा धेरै गुनासो आएपछि प्रहरीले प्राथमिकतामा राखेको बताँउछन् । उनका अनुसार प्रहरीले यो बीचमा २४ जनालाई लागुऔषधीसहित पक्राउ गरेको छ ।

डिएसपी मल्लका अनुसार, एक सय चार ग्राम ९ सय ८२ मिलिग्राम ब्राउनसुगरसहित १४ जना, तीन किलो ८ सय ग्राम अफिमसहित एक जना, ३९ ट्याब्लेट नाइट्राभेटसहित एक जना र तीन किलो ७ सय ५० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना महिला छन् । प्रहरीले यी घटनामा १७ वटा मुद्दा दर्ता गरेको छ ।

खुल्ला नाका भएकाले कोहलपुरसम्म सहजै लागुऔषधी पुग्ने गरेको प्रहरीको भनाइ छ । तर, मुख्य नाकामा लागुऔषध नियन्त्रण ब्यूरोको टोली दिनरात खटिएको हुन्छ । त्योसँगै प्रहरीको उपस्थिति रहेको छ ।

यसरी ब्यूरो र प्रहरीको सक्रियताका बाबजुद कारोबारीले कोहलपुरसम्म र त्यहाँबाट विभिन्न लागुऔषध अन्यत्र सप्लाइ गरिरहेका छन् ।

लागुऔषधीको प्रयोग र कारोबार बढ्दा सहरमा चोरीदेखि जघन्य अपराधका घटना हुने गर्दछन् । कोहलपुरलाई लागुऔषधीको केन्द्रबाट बचाउनका लागि प्रहरीसँगै नागरिक समाजका अगुवा अगाडि आउन जरुरी रहेको डिएसपी मल्ल बताउँछन् ।

पछिल्लो दिनमा कोहलपुरबासीको जनगुनासो नै लागुऔषधी नियन्त्रण गर्नुपर्ने रहेको डिएसपी मल्लले बताए । उनले भने –‘ईलाका प्रहरी कार्यालय, कोहलपुरले बोलाएका छलफलहरूमा कोहलपुरबासीले लागुऔषधी नियन्त्रणका लागि दबाब, आग्रह र गुनासो गर्ने गर्दछन् ।’ उनी भन्छन्–‘यसका लागि कोहलपुर प्रहरीले जनताको गुनासोलाई उच्च प्राथमिकतामा राखि अघि बढेकोछ ।’

थप समाचार

लागुऔषध विरुद्ध डिएसपी मल्ल, कोहलपुरका नामुद कारोबारीसहित तीन जना पक्राउ