भारतको बाराबंकीमा बस दुर्घटना : शोकमा डुब्यो विनौना गाउँ


भारतको बाराबंकीमा बस दुर्घटना : शोकमा डुब्यो विनौना गाउँ

नेपालगन्ज १९ भदौ : भारतमा भएको बस दुर्घटनामा परि एउटै गाउँका दुई युवाको ज्यान गएपछि यतिबेला बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना गाउँ शोकमा डुबेकोछ ।

मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको शनिबार बिहान करिब ३ः३० बजे भएको सडक दुर्घटनामा परि मृत्यु भएको हो ।

भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि.टि. ९९४४ नम्बरको यात्रु बाहक बस उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक सोही दिशाबाट गइरहेको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

भारतको बाराबङ्कीमा भएको उक्त दुर्घटनामा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनामा परी मृत्यु भएका राप्तीसोनारी–५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिङ्गो बिनौना गाउँ शोकमग्न भएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ का वडाध्यक्ष झगरु थारुले बताए ।

‘गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ’, वडाध्यक्ष थारुले भने, ‘शोकमग्न आफन्तजन तथा गाउँबासी दाहसंस्कारका लागि आइपुग्नुभएको छ ।’ प्रेम र शीतल यसअघि पटक–पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए ।

मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनाबासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताए ।

मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । उनका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन । मृतक प्रेम र शीतलको आजनै दाहसंस्कार गरिएकोछ ।

दुःखमा गाउँपालिका उपाध्यक्षको साथ

भारतमा भएको उक्त बस दुर्घटनामा परि ज्यान गुमाउने दुई जना मृतक र केही घाईते राप्तीसोनारी गाउँपालिका निवासी रहेको पुष्टी भएपछि गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले मृतक तथा घाइतेका आफन्तलाई शनिबार बिहान भारतको रुपैडिहासम्म पुर्याउने ब्यवस्था मिलाएकी थिइन् ।

आफु चढ्ने गाडीमा राखेर उनले मृतक तथा घाइतेका आफन्तलाई रुपैडिहासम्म पुर्याएकी हुन् । यसका साथै मनिषाले भारतबाट शव ल्याउन आवश्यक समन्वय पनि गरेकी थिइन् । उक्त दुर्घटनामा आफन्त गुमाएका र घाइतेका परिवारहरु दुःख, पीडामा परिरहेका बेला गाउँपालिका उपाध्यक्ष मनिषाले साथ दिएकी हुन् ।

गाउँपालिका उपाध्यक्ष मनिषको साथ र समन्वयमा भारतबाट शव लिन ३ वटा एम्बुलेन्स पुगेको थियो । मजदूरीका लागि भारत जादै गरेका गाउँका युवाहरु दुर्घटनामा परेपछि राप्तीसोनारी– ५ बिनौना शोकमा डुबेको उपाध्यक्ष थारुले बताइन् ।

‘गाउँ पुरै शोकमा डुबेको छ, उहाँहरुको पीडाले हामीलाई दुखेको छ,’ उनले भनिन् । उक्त दुर्घटनामा परी मृत्यु भएका अर्का एक जनाको भने अझै पहिचान हुन सकेको छैन ।

उक्त दुर्घटनामा परी करिव दुई दर्जन घाइते भएका थिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । सामान्य घाइतेलाई उपचारका लागि बाराबंकी जिल्ला अस्पतालमा भर्ना गरिएको छ, भने गम्भीर घाइते ६ जनाको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

थप समाचार

भारतको बाराबंकीमा रोकीराखेको बसलाई ट्रकले ठक्कर दिदाँ चार नेपालीको मृत्यु