‘राजश्वका कर्मचारीले अनावश्यक सताए खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर्छु’ : महानिर्देशक अधिकारी


‘राजश्वका कर्मचारीले अनावश्यक सताए खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर्छु’ : महानिर्देशक अधिकारी

नेपालगन्ज २२ भदौ : राजश्व अनुसन्धान विभागका कर्मचारीले कुनैपनि बहानामा व्यापारीको पसल तथा गोदाममा मनपरी रुपमा छापा हान्न नपाउने राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले प्रष्ट्याएकाछन् ।

राजश्व अनुसन्धान विभागका कर्मचारीले अनेक बहाना लगाएर आफूहरुलाई दुःख दिने काम गरेको नेपालगन्जका व्यापारीले गुनासो गरेपछि उनले यस्तो बताएका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले राजश्व अनुसन्धान विभाग र ब्यवसायीबीच बुधबार राखेको अन्तरक्रियामा उपस्थित भएका अधिकांश व्यापारीले अनेक बहाना लगाएर विभागका कर्मचारीले तर्साउने गरेको र आफूलाई पीडा भएपनि कतै व्यक्त गर्न नसकेको बताएका थिए ।

ब्यवसायीबीच गरिएको उक्त अन्तरक्रियामा व्यापारीको गुनासो सुनिसकेपछि विभागका महानिर्देशक झलकराम अधिकारीले ‘कतैबाट हामीलाई सूचना आयो भने हामी सूचनाको विश्लेषण गर्छौं, महानिर्देशकको लिखित स्वीकृती विना कुनैपनि कर्मचारी ब्यवसायीको घरमा पस्न पाउँदैन,’ उनले अगाडी थपे ‘कसैले तपाईलाई अनावश्यक रुपमा फोन गरेर टर्चर गर्छ र सताउन खोज्छ भने मलाई खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर्छु ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘कर्मचारीले फोन गरेर तिम्रो निगरानी गरिरहेका छौं, समयमै भेट गरिहाल, नत्र छापा हान्छु भनेर थर्काउँछन्,’ अन्तरक्रियामा सहभागी अधिकांश व्यापारीको यही गुनासो थियो । उनीहरुले अगाडी थपे ‘राजश्व अनुसन्धानको फोन आउने बित्तिकै हाम्रो मुटु काप्न थाल्छ ।’

राजश्व अनुसन्धान विभागले कमजोरी रहेको केही आधार फेला पारेपछि मात्र छापा हान्ने गरेको विभागका महानिर्देशक झलकरामले प्रष्ट्याए ।

‘हाम्रो उद्देश्य अवैध व्यापारलाई निरुत्साहित गर्ने हो, अवैध व्यापार तपाई हाम्रो शत्रु हो,’ अधिकारीले अगाडी थपे ‘हाम्रो उद्देश्य भनेको व्यापारमा सहजीकरण गर्ने हो, व्यापारीलाई तर्साउने होइन, तपाईहरुलाई आतंकित पारेर सहजिकरण हुन सक्दैन । त्यसैले निर्धक्कसँग बैध कार्य गर्नुहोस् ।’

व्यापारीले असल नियतले गर्ने जुनसुकै काममा राजश्व अनुसन्धान विभागले साथ दिने तर, बद्नियत राखेर गर्ने काममा साथ दिन नसक्ने बताउँदै विभागका महानिर्देशक झलकरामले भने–‘ब्यापारका नाममा अबैध माल मगाउने, भण्डारण गर्ने र पैठारी गर्नेलाई राजश्व अनुसन्धान विभाग कठोर रुपमा प्रस्तुत हुन्छ । अबैध ब्यापारलाई निस्तेज गर्ने विभागको उद्देश्य छ । बैध, पारदर्शीरुपमा ब्यापार ब्यवसाय गर्नुहोस् ।’

‘राजश्वको आँखाबाट हेर्दा ब्यापार व्यवसाय घट्नुको कारण चोरी निकासीबाट अबैध सामाग्री ल्याउनु नै हो ।’ झलकरामले अगाडी थपे–‘यस्ता कार्य निरुस्साहित गर्न सहकार्य गरेर अघि बढौं । अवैध व्यापार रोक्न बैध व्यापार गरौं अनि मात्र ब्यापार ब्यवसाय फस्टाउँछ ।’

अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले यहाँको व्यापार, व्यवसाय खस्किरहेका बेला सरकारले सहयोग गर्नुपर्ने बेलामा अनेक निहुँ बनाएर व्यापारीलाई पीडा दिने काम भइरहेको गुनासो गरे । व्यापारीले सरकारलाई राजश्व तिरेर सहयोग गर्ने काम गरिरहेको बताउँदै उनले व्यापारीको कुनै बद्नियत नभएको जिकिर गरे ।

‘गलत काम गर्ने व्यापारीको पक्षमा हामी छैनौं, तर सानातिना त्रुटीका कारण व्यापारीले दुःख पाइरहेका छन्, हामी पीडामा छौं,’ अध्यक्ष मन्सुरीले भने । राजश्व अनुसन्धान विभागले कतिपय अवस्थामा व्यवहारिक पक्षलाई पनि हेर्नुपर्ने उनले सुझाव दिए ।

सो क्रममा संघका महासचिव चिरञ्जिवी ओली, प्रवक्ता टंकबहादुर धामी, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, सुनचाँदी ब्यवसायी लुम्बिनी प्रदेशका बुद्धिबहादुर सुनार ‘दियाली’, व्यापारी जिआर भुसाल, दीपेन्द्र बिष्ट, सुदीप कौसल, रविन्द्रनाथ शुक्ला, मिनराज न्यौपाने, राधा झाँ र युवराज ढकाल लगायत एक दर्जन ब्यापारीले महानिर्देशक अधिकारी समक्ष आफन गुनासो पोखेका थिए ।

बाँकेको कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयले केही समयअघि नेपालगन्जस्थित एक व्यापारीको पसलमा छापा हान्ने क्रममा विवाद बढ्दा कर्मचारी र व्यापारीबीच हात हालाहाल समेत भएको थियो । कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंकबहादुर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी पछि छाडेको थियो ।

उक्त घटना पश्चात बाँकेमा व्यापारी र राजश्व अनुसन्धान विभागबीच द्वन्द्व उत्पन्न भएपछि विभागका महानिर्देशक अधिकारी, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, कम्प्युटर अधिकृत पवन बस्नेत, राजश्व अनुसन्धान कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मनप्रसाद विक लगायत विभागका उच्च अधिकारी नेपालगन्ज आएर सहजीकरण गरेका थिए ।

सोक्रममा विभागका उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले विदेशी विनिमय तथा मुद्दा र हुण्डि सम्बन्धि तथा विभागका कम्प्युटर अधिकृत पवन बस्नेतले माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भिसीटिएस) सम्बन्धि जानकारी दिएको संघका महासचिव चिरञ्जिवी ओलीले जानकारी दिए ।