नेपालगन्ज २८ भदौ : ५८ करोड रकम हिनामिना गरेको आरोप लागेका सहकारी वित्तिय विकास संस्था लिमिटेडका अध्यक्ष हरदेवबक्स चौधरीलाई बचतकर्ताले घेरेका छन् ।
अदालतमा तारिख दिन आएका चौधरीलाई अदालतको गेटमै पुगेर पीडित बचतकर्ताले घेरेका हुन् । उनीहरुले चौधरीलाई घेरेर ‘पैसा कहिले पाउँछौँ ?’ भनेर प्रश्न गरेका छन् ।
तारिख दिएर निस्केका अध्यक्ष चौधरीले कानूनी प्रक्रियामा गएकाले अदालतबाट हुने फैसलाअनुसार नै रकम पाउने जवाफ फर्काएका थिए। अध्यक्ष चौधरी २१ लाख धरौटीमा छुटेका छन् । सहकारीमा ५८ करोड हिनामिना भएको छ । ४१ जनाविरुद्ध मुद्दा परेको छ । ६ जना जेलमा छन् भने अरु धरौटीमा छुटेका छन् ।
सहकारी पीडित संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले चौधरी अदालतमा आउँदैछन् भन्ने थाहा पाएपछि बचतकर्ताहरु आएर घेरेको बताए ।
‘आफ्नो पैसा फिर्ताका लागि बचतकर्ताहरु तीन वर्षदेखि सडकमा छन् । उनीहरुले चौधरीसमक्ष आक्रोश पोखेका हुन्, शुक्लाले भने, ‘अदालत प्रक्रिया ढिला हुँदा पीडितले न्याय पाइरहेका छैनन् ।’
विगत १० वर्षदेखि नक्कली कागजपत्र बनाएर सहकारीका सञ्चालक, कर्मचारी र लेखा परीक्षकलगायत मिलेर रकम अपचलन र ठगी गर्दै आएका थिए । बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि बाँके प्रहरीले विज्ञहरुको सहयोगमा अनुसन्धान गर्दा हिनामिना भएको वास्तविकता फेला पारेको थियो ।
सहकारीको रकम हिनामिना भएको पाएपछि सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी समेत दिइएका थिए ।
संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य, कर्मचारीसहित ४१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो । २०५१ सालमा स्थापित यो सहकारी बाँकेकै सबैभन्दा पुरानो सहकारी हो । सहकारी वित्तीय विकास संस्थाको रकम हिनामिना भएको सार्वजनिक भएपछि गत २०७६ जेठदेखि सहकारी बन्द छ ।
थप समाचार
सहकारी रकम हिनामिना गर्नेलाई प्रहरीले पक्राउ गरेन
सहकारीको रकम हिनामिना प्रकरण : संस्थापक अध्यक्ष चौधरी कारागार चलान
सहकारीको रकम हिनामिना प्रकरण : संस्थापक अध्यक्ष चौधरी पक्राउ
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू