फोहर ब्यवस्थापनमा उपमहानगरपालिका उदासिन


फोहर ब्यवस्थापनमा उपमहानगरपालिका उदासिन

नेपालगन्ज १२ असोज : नेपालगन्ज उपमहानगरपालिकाको गैरजिम्मेवारीका कारण यतिबेला नगरबासीको स्वास्थ्य जोखिममा परेकोछ । उपमहानगरमा दिनहुँ उत्पादन हुने फोहरजन्य बस्तुको समयमै ब्यवस्थापनमा नगरिदिँदा उपमहानगरबासीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको हो ।

बजारमा छरपस्ट फालिएका फोहरको समुचित ब्यवस्थापन नगरिदिँदा उपमहानगरपालिकाको गैरजिम्मेवारी कार्यले प्रकोपका रुपमा फैलिएका डेंगुका साथै विभिन्न सरुवा रोगको संक्रमणलाई बढावा दिइरहेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा गैरजिम्मेवारी ढंगले अघि बढेपछि नेपालगन्ज सहर दुर्गन्धित र कुरुप देखिएकोछ । नेपालगन्जको मुख्य चोक, गली र सडकमा अब्यवस्थितरुपमा फ्याँकिएका फोहरको ढंगुरले यतिबेला उपमहानगरपालिकालाई नै गिज्याइरहेकोछ ।

उपमहानगरपालिकाको फोहर व्यवस्थान हुन सक्दा नगरबासीमात्र होइन बाहिरी जिल्लाबाट आएका सर्वसाधरण समेत दुर्गन्ध र संक्रमण जन्य रोगको जोखिममा परेका हुन् । उपमहानगरको बढ्दो बजारीकरणसंगै दिनहुँ उत्पादन हुने फोहरमैला व्यवस्थापनको समयमै नगरिदिँदा ‘सफा नगर स्वस्थ नगरबासी’को परिकल्पना दिवास स्वप्न हुने प्रष्ट छ ।

Kids Festival 2022
kanti aarogya hospital

फोहर ब्यवस्थापनमा दीर्घकालिन स्पष्ट खाका तयार नहुँदा यतिबेला स्थानीय सरकारका अगाडी यो विषय चुनौती पूर्ण बन्दै गएकोछ । बजार क्षेत्रका घर, होटल तथा रेष्टूरेन्ट र तरकारी पसल लगायतका क्षेत्रबाट निस्कने फोहर ब्यवस्थान नहुँदा बजार क्षेत्र दुर्घन्धित मात्र भएको छैन उपमहानगरमा रहेका नाला, ताल र पोखरीमा जथाभावि फोहर फालिएका फोहरले संक्रमाक रोगको जोखिम बढाएकोछ ।

‘यसरी जथाभावि फोहर फ्याक्दा उपमहानगर कुरुप र दुर्गन्धित बनेको छ नै विभिन्न संक्रमणको जोखिम समेत बढेकोछ’ स्थानीय सोम यादवले भन्छन्–‘फोहर उत्पादन हुने ठाँउबाटै कुहिने र नकुहिने फोहर ब्यवस्थापन गर्न र गराउन उपमहानगरपालिकाले कडा कदम चाल्नुपर्छ ।’

उपमहानगरपालिकाको फोहर व्यवस्थापन प्रणाली भद्रगोल रहेको अधिकारकर्मी भोला महत बताउँछन् ।

नगरबासीलाई सुरुमै कुहिने र नकुहिने फोहर छुट्टयाएर व्यवस्थापन गर्नतर्फ उपमहानगरपालिकाले खासै चासो र तदारुक्ता देखाएको छैन इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक समेत रहेका महतले भने–‘एडिबी लगायतको सहयोगमा बनेका मुख्य तथा भित्रि नालाहरुको नियमित सरसफाई हुँदैन, नगरबासीले आफूखुसी फोहर जथाभावि फालिरहेका हुन्छन्, ढल निकास हुन पाइरहेको छैन ।’

फोहर व्यवस्थापनको कार्य प्रभावकारिरुपमा लागु गर्न सकेमात्र सफा नगर स्वस्थ नगरबासीको परिकल्पना पुरा हुनसक्ने उनी बताउँछन् ।

जथाभावि फोहर फाल्दा वातावरण प्रदुषण हुनुका साथै फोहरको गन्ध वरीपरीका वस्तीसम्म पुग्ने गरेको छ । निर्वाचनका मुखमा फोहरमैला व्यवस्थापनलाई मुख्य एजेण्डा बनाउने तर, नेतृत्वमा पुगेपछि यसको दीर्घकालिन समाधानका विषयमा कुनै ठोस कार्य नहुँदा यो समस्या ज्यूँका त्यूँ रहदै आएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले उपमहानगरको फोहर व्यवस्थापनका लागि सबैसँग समन्वय गरि निरन्तरता दिने बताए ।

उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमुख प्रकाश डिसीले दैनिक फोहर उठाउनका लागी मुख्य सडकहरुमा ठेक्का दिइएको र अन्य भित्रि सडकहरुमा वडा तथा स्थानीयबासीहरुको समन्वयमा आफै फोहर उठाउने गरेको बताए ।

नियमित फोहर नउठ्ने समस्या कहिले काँही भएपनि नियमित फोहर उठाएर व्यवस्थापन गर्दै आएको उनको दावि छ । उनले भने ‘पानि परेका समय र सवारी साधन मर्मत गराउँदा मात्र फोहर समयमै उठाउन नसकिएपनि नियमतिरुपमा उठाई ब्यवस्थापन गरिदैँ आएकोछ ।’