म्याराथन मार्फत पर्यटन प्रर्बद्धन गरिने


म्याराथन मार्फत पर्यटन प्रर्बद्धन गरिने

नेपालगन्ज २२ असोज : धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

दुवै विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो ।

सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सारमंग देहरादुन म्याराथन रेश डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गरेका छन् ।

‘एशियाका दुई सहरमा हुने प्रतिष्ठित म्याराथनहरुबीच एकअर्कालाई सहयोग गर्ने उद्देश्यले सम्झौता गर्न पाउँदा धेरै खुशी छौं । यस सम्झौताले म्याराथन पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौं’ उनले भनेका छन् –‘उत्तराखण्ड र नेपाल दुवैको पहाडी रहनसहन, संस्कृति र भौगोलिक बनोट समानता छ । हामी नेपालबाट आउने धावकहरुलाई स्वागत गर्न सदैव आतुर रहनेछौं ।’

Kids Festival 2022
kanti aarogya hospital

सारमंग देहरादुन म्याराथन यही अक्टोबर १६(असोज ३० गते) हुनेछ । धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादुन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले धार्मिक पर्यटनमा समेत ठुलो टेवा पुग्ने बताए ।

‘अधिकांश हिन्दु धर्मावलम्बीहरुका लागि हरिद्वार, ऋषिकेस ठुलो तीर्थ स्थल हो, नेपालगन्जस्थित बागेश्वरी शक्तिपीठ पनि उत्तिकै महत्वपुर्ण हो’ ठकुरीले भने–‘यो सम्झौताले धार्मिक पर्यटनको समेत प्रवद्र्धन हुने अपेक्षा गरेका छौं । साथै धेरैभन्दा धेरै नेपाली धावकले विदेश भूमिमा खेल्ने अवसर पनि अर्को महत्वपुर्ण पाटो हुनेछ ।’

देहरादुनमा म्याराथनमा सहभागिताका लागि स्थानीय खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय स्तरका धावक धाविकालाई समेत अवसर प्रदान गरिने ठकुरीले जानकारी गराए ।

एक दशक लामो सशस्त्र द्वन्द्वलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ वर्षदेखि हरेक मंसिरको पहिलो शानिबार नेपालगन्ज म्याराथन हुँदै आएको छ । यस वर्ष आम निर्वाचनका कारण मंसिर २४ गते म्याराथन हुनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथन यस वर्ष भने आम निर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।

नेपालगन्ज म्याराथनको वेभसाइट(www.nepalgunjmarathon.com)मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत वर्ष झैं यस वर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।

पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको शहर हो । देशको संघीय संरचनामा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेशद्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ वर्ष अघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।

थप समाचार

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने

आठौं नेपालगन्ज म्याराथनको तयारी शुरु