बर्दियामा पनि दादुरा–रुवेलाको प्रकोपः १३ महिने बालिकादेखि ३५ वर्षिय महिला संक्रमित


बर्दियामा पनि दादुरा–रुवेलाको प्रकोपः १३ महिने बालिकादेखि ३५ वर्षिय महिला संक्रमित

गुलरिया (बर्दिया) २२ माघ : बाँकेसँग सीमा जोडिएको बर्दिया जिल्लामा पनि दादुरा–रुवेलाका विरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीका अनुसार बर्दियामा हालसम्म ७ जनामा दादुरा–रुवेला संक्रमण देखिएको हो ।

र्दियाको गुलरिया नगरपालिका–२ मा १ जना, बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा ७ जनामा दादुरा–रुवेला संक्रमित विरामी भेटिएका हुन् ।

बढैयाताल गाँउपालिकाको–१ मा १३ वर्षीय बालिका, १ वर्षीय बालक, वडा नम्बर–२ मा १ वर्षीय बालक र वडा नम्बर–७ मा ३५ वर्षीय महिलामा दादुरा–रुवेला संक्रमण पाइएको छ ।

यसैगरी राजापुर नगरपालिका–४ मा १३ वर्षीय बालिका र बारबर्दिया नगरपालिका–८ औरीमा १३ महिनाकी बालिकामा दादुरा देखिएको हो । विरामी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएकोछ । स्वास्थ्य कार्यालय बर्दियका प्रमुख गीरीका अनुसार विरामी मध्ये केहीको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भैरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बढैयाताल गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले प्रभावित वडाहरुमा आईतवारबाट खोप अभियान सञ्चालन गरिएको र अन्य स्थानमा विरामीको पहिचान गरि खोप अभियान सञ्चालन गरिने बताए ।

यस्तै गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले थप केही दादुराको लक्षण देखिएकाको स्याम्पल संकलन गरिएको बताउँदै आईतवार पहिचान गर्ने काम जारी रहेको बताए ।

बाँकेमा महामारीको रुप लिइरहेको दादुरा–रुवेलाले सीमाना जोडिएको बर्दिया जिल्ला पनि प्रभावित भएपछि सर्तकता अपनाउँदै संक्रमण नरहेका अन्य पालिकामा रोकथामका लागि तातिएका छन् ।

बर्दियामा १३ महिनाकी बालिका सहित ३५ वर्षिया महिला दादुरा –रुवेलाको विरामी देखिएपछि स्वास्थ्यकर्मी सर्तकता अपनाएका हुन् ।

दादुराकै कारण बाँकेमा ३१ महिने बालकको मृत्यु भएपछि थप जोखिम बढेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । एउटा टोल वस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । सरकारले सन २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।