होटल डाईमण्ड प्यालेसका सञ्चालक सुरेन्द्रलाई लिखित जवाफसहित ७ दिनभित्र हाजिर हुन आदेश


होटल डाईमण्ड प्यालेसका सञ्चालक सुरेन्द्रलाई लिखित जवाफसहित ७ दिनभित्र हाजिर हुन आदेश

नेपालगन्ज २६ माघ : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले होटल डाईमण्ड प्यालेस प्रालिका सञ्चालक सुरेन्द्रबहादुर सिंहलाई लिखित जवाफसहित अदालतमा हाजिर हुन आदेश दिएकोछ । अदालतले दिएको आदेश लत्याएर सरकारी, सार्वजनिक तथा निजि जमिन हडपेका होटल डायमण्ड प्यालेसका सञ्चालक सिंहलाई लिखित जवाफसहित ७ दिनभित्र अदालत हाजिर हुने आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले दिएको आदेश लत्याएर ब्यक्तिगत जमिनमाथी धावा बोलेका ‘होटल डायमण्ड प्यालेस’ प्रालि (साविक सिग्नेट ईन कृष्णा होटल) का सञ्चालक सिंहले सरकारी तथा सार्वजनिक जमिन हडपेर संरचना बनाएका र साँधमा रहेको ब्यक्तिगत जमिन हड्पन खोजेपिछ उनी विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीशद्वय बामदेव ज्ञवाली र टंकप्रसाद गुरुङ्गको संयुक्त इजलासले गत माघ २३ गते होटल डायमण्ड प्यालेसका सञ्चालक सिंहलाई कारण र प्रमाणसहित बाटाका म्याद बाहेक ७(सात) दिन भित्र अदालत हाजिर हुन आदेश दिएकोछ ।

‘यसमा पेश हुन आएको निवेदन व्यहोरा अध्ययन गरी निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले गर्नुभएको बहस समेत सुनियो । यसमा के–कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिम विपक्षीहरुलाई अदालत अवहेलनामा कारबाही हुनुपर्ने नपर्ने के हो ? कारवाही हुनु नपर्ने कुनै कारण र प्रमाण भए सो सक्कल साथै राखी बाटाका म्याद बाहेक ७(सात) दिन भित्र विपक्षी होेल डाईमण्ड प्यालेस प्रालिका सञ्चालक सुरेन्द्रबहादुर सिंह आफै लिखित जवाफका साथ उपस्थित हुनुहोला भनी प्रस्तुत आदेश निवेदनको प्रतिलिपि समेत साथै राखी बिपक्षीहरुका नाउँमा सूचना म्याद जारी गरी लिखित जवाफ वा पर्ने अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु ।’ अदातलतले दिएको आदेशमा भनिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ जय बागेश्वरी स्कुल नजिक रहेको ‘होटल डायमण्ड प्यालेस’ प्रालि (साविक सिग्नेट ईन कृष्णा होटल) का सञ्चालक सुरेन्द्र बहादुर सिंहले ब्यक्तिगत जमिनमा धावा बोलेका हुन् ।

सरकारी र सार्वजनिक जमिन मिचेर निर्मित होटलले आफ्नो ब्यक्तिगत जमिनमा समेत आँखा लगाएर हडप्न खोजेपछि न्यायका लागि भन्दै छिमेकी सुरेन्द्रकुमार श्रेष्ठले अदालतमा निवेदन दिएका थिए ।

होटल सञ्चालकले आफ्नो जमिन हड्प्न खोजेपछि श्रेष्ठले ‘निषेधाज्ञा’ माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट समेत दायर गरे । अदालतले विपक्षी सिंह विरुद्ध यही माघ २० गते अन्तरिम आदेश जारी गरिसकेको छ । तर, होटल तथा क्यासिनो ब्यवसायी सिंहले अदालतको अन्तरिम आदेशलाई अटेरी गर्दै सोही दिन आफ्नो पर्खाल लगायत भौतिक संरचनामाथी नम्बर नखुलेको डोजर अन्धाधुन्ध चलाएको श्रेष्ठले बताए ।

अदालतको अन्तरिम आदेश विरुद्ध होटल सञ्चालकले आफ्नो संरचनामा जबरजस्ती डोजर चलाएपछि अदालतमा पुनः अवहेलना मुद्दामा दायर गरेको श्रेष्ठले बताए । ‘मुद्दा हाले नराम्रो हुने भन्दै मलाई अहिले पनि उनीहरु डर, धम्की दिइरहेका छन्, मेरो ज्यान जोखिममा छ,’ उनले भने ‘ज्यान सुरक्षा गरि पाउँ भनेर मैले माघ १९ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिइसकेको छु । तर, प्रहरी र प्रशासनबाट मैले सहयोग पाउन सकिन ।’

सिंहले होटल र क्यासिनोका ‘गुण्डा’ प्रयोग गरेर जवरजस्ती डोजर चलाउँदा करिव १७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको श्रेष्ठको दावि छ । होटलले बिना नम्बर प्लेटको डोजर प्रयोग गरी दादागिरी शैलीमा ब्यक्तिगत संरचना भत्काएको उनको आरोप छ ।

श्रेष्ठले यसअघि पत्रकार सम्मेलनमार्फत होटल तथा क्यासिनोका महेन्द्र चन्द र पुस्कर हमालले आफुमाथी डर, त्रास देखाइरहेको दुखेसो पोखेका थिए । उनले भने–‘अदालतको आदेशलाई लत्याएर मेरो ब्यक्तिगत जमिन हड्पने योजनासहित डोजर चलाउँदा भौतिक संरचनामा क्षति भयो । यसको विरुद्ध बोल्दा मलाई धाकधम्की समेत दिइयो ।’

श्रेष्ठले २०५९ सालमा १७१ नम्बर कित्ता रहेको २ कठ्ठा साढे १४ धुर जमिन किनेर २०६४ सालमा घर निर्माण गरेको बताएका छन् । साविक सिग्नेट ईन कृष्णा होटल रहेको उक्त जग्गालाई होटल तथा क्यासिनो सञ्चालक सिंहले ब्यवसायी दिपेन्द्र अग्रवालसँग केही समयअघि खरिद गरेका थिए ।

साविकका जग्गाधनी अग्रवालले १४ कठ्ठा जमिनमा सरकारी, सार्वजनिक र ब्यक्तिगत जमिन हडपेर अहिले १८ कठ्ठा पुर्याएको उनको जिकिर छ । उक्त होटलले अर्का स्थानीय योगेन्द्र स्वाँरको करिव ८ धुर र कालिमाई मन्दिरको करिव ४ कठ्ठा जमिन समेत हडपेको र आफ्नो पनि करिव ५ धुर जमिन अहिले हडप्ने प्रयास गरिरहेको श्रेष्ठले सुनाए ।

‘मैले त्यतिबेला नगरपालिकाबाट नक्सापास गरेर घर बनाएको थिए, म विगत ४÷५ वर्षदेखी श्रीमतीको उपचारका लागि काठमाडौंतिर ब्यस्त भएको मौका छोपेर नयाँ नापी गराएर मेरो जग्गा हडप्न खोजेको नियत देखिन्छ,’ श्रेष्ठले बताए ।

सरकारी, सार्वजनिक र ब्यक्तीगत सम्पत्तीमाथी आँखा लगाउनेमाथी छानविन गरिदिन उनले सम्वद्ध निकायसँग आग्रह गरेका छन् । आफुसँग सबै प्रमाणहरु रहेको श्रेष्ठको दाबी छ ।

श्रेष्ठले यस विषयमा नापीको समेत ध्यानाकर्षण गराउँदा कुनै वास्ता नगरिएको गुनासो पोखे । उनले यो प्रकरणमा भूमाफियाको संलग्नता रहेको आरोप लगाए । नापीको भूमिकाप्रति पनि उनले शंका व्यक्त गरे । अदालतको आदेश विपरीत जबर्जस्ती गरिँदा पनि न्याय नपाएको भन्दै उनले न्यायका लागि पहल गरिदिन आग्रह गरे ।

थप समाचार

‘होटल डायमण्ड प्यालेस’ को अटेरीः अदालतको आदेश लत्याएर ब्यक्तिगत जमिनमाथी ‘धावा’