नौवस्ता औद्योगिक क्षेत्रको उद्योगमन्त्रीको स्थलगत निरीक्षण

मानव वस्ती ब्यवस्थापन गरेर एक महिनाभित्र टेण्डर आव्हान गरिने


मानव वस्ती ब्यवस्थापन गरेर एक महिनाभित्र टेण्डर आव्हान गरिने

नेपालगन्ज ९ फागुन : बाँकेको बैजनाथमा निर्माणाधिन औद्योगिक क्षेत्र निर्माण कार्य विलम्ब नगरी छिट्टै सुरु हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएकाछन् ।

उद्योगमन्त्री भण्डारीले मङ्गलबार बाँकेको बैजनाथमा निर्माणाधिन औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै यस्तो बताएका हुन् ।

स्थलगत निरीक्षणका क्रममा मन्त्री भण्डारीले अबको एक महिनाभित्र मानव बस्तीको व्यवस्थापन गरि औद्योगिक क्षेत्रको निर्माणको कार्य छिट्टै सुरु हुने बताउँदै अगाडी थपे–‘अब विलम्ब नगरी औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइनेछ ।’

मन्त्री भण्डारीले भने,‘मानव बस्ती ब्यवस्थापन गरेर एक महिनाभित्र टेण्डर आव्हान गरिनेछ । हालको डीपीआरमा थोरै संशोधन गरी निर्माण काम अघि बढाइनेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

हाल सुकुम्बासीले वर्षौदेखि प्रयोग गरिरहेको जग्गा उनीहरुलाई नै भोगचलन गर्न दिएर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने मन्त्री भण्डारीको भनाइ छ ।

नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रालयसँग बजेट उपलब्ध रहेको भन्दै उनले राजनीतिक दल, जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद, स्थानीय सरकार र स्थानीय बासिन्दा सबैको साथ र सहयोगको आवश्यकतामा जोड दिए ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ विघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि वस्तीलगायतका कारण पछि ३३८ विघामा निर्माण कार्य अघि बढाउने भनिएको थियो । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

मन्त्री भण्डारीले मङ्गलबार नै बाँकेको कोहलपुर क्षेत्रका उद्योगी, ब्यवसायी, राजनीतिक दलका नेता लगायतसँग भेटघाट गर्दै आर्थिक विकास र समृद्धिका लागि सरकारले निजी क्षेत्रबाट पर्याप्त साथ पाइरहेको बताए ।

यसैबीच नौवस्ता औद्योगिक क्षेत्रमा वस्ती ब्यवस्थापनका लागि १०८ विघा जग्गा आवश्यक पर्ने स्थानीय बासिन्दाको तर्फबाट माग गरिएको छ ।

३३८ विघा जमिनमध्ये सशस्त्र प्रहरीलाई २० र क्षेत्रीय कारागारलाई १० विघा यसअघि नै दिइसकिएका कारण १०८ विघा जमिन स्थानीयलाई छुट्याउने हो भने औद्योगिक क्षेत्र निर्माण हुन नसक्ने भएकाले मन्त्री भण्डारीले औद्योगिक क्षेत्र निर्माण हुन सक्नेगरी बस्ती ब्यवस्थापन जरुरी रहेको बताए ।

यता सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद रत्न खत्रीले मानव बस्तीलाई ब्यवस्थापन गरी औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय बासिन्दा तयार रहेको बताए । नौवस्तामा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २५० जना उद्योगी ब्यवसायीले आवेदन दिएकाछन् ।