भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्न माग


भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्न माग

नेपालगन्ज ३० फागुन : भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र भित्र्याउन बाँकेका उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन केही दिनअघि यहाँका उपभोक्ता अधिकारकर्मी र मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी, इन्सेककी कार्यक्रम अधिकृत सरस्वती मल्ल, मानव अधिकार एलाइन्सका डिल्ली प्रसाद जैसी न्यौपाने र इन्सेक नेपालगन्जका जिल्ला प्रतिनिधि लक्ष्मी कुमारी थारुले उक्त प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले भारतबाट आउने तरकारीको गुणस्तर परीक्षण निरन्तर भइरहेको दाबी गरेको छ । भन्सार कार्यालयले पठाउने गरेको नमुना परीक्षण निरन्तर भइरहेको र परीक्षणबिना तरकारी नभित्रिएको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।

भारतबाट आयातित तरकारी तथा फलफूलको परीक्षण गरेर गुणस्तरको सुनिश्चितता गरेपश्चात् मात्र उपभोक्तामाझ पुग्नुपर्नेमा विषादी परीक्षणबिना नै बिक्री वितरण भइरहेकाले विषादी परीक्षण गर्न माग गरिएको लुम्बिनी प्रदेश उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष प्रभातकुमार ठकुरीले जानकारी दिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेपाली तरकारीले बजार नपाएको गुणासो कृषकबाट आइरहेको बेला नेपालगन्जमा भारतीय तरकारीको निर्वाध रुपमा आयात भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उनीले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले विषादीको जथाभाबी प्रयोग गरी उत्पादन भएको तरकारी तथा फलफूल खान नेपाली उपभोक्ता बाध्य भइरहेको जनाउँदै यसको नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने बताए । प्रभावकारी परीक्षण गरी उपभोक्ता माझ गुणस्तरीय तरकारी तथा फलफुल पुयाउन सम्बन्धित निकायको दायित्व रहेको उनले बताए ।