File Photo
नेपालगन्ज ४ चैत्र : भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ ।
कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकाहरूमा कडाइ गर्दा ठूलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् ।
सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगन्ज १० शीतलनगरमा लुकाईछिपाई राखेको एक लाख ५० हजार भन्दा बढी मूल्यको २१९ ओटा कुखुरालाई बाँके प्रहरीले बरामद गर्न सफल भएको छ । सोही प्रकारले अन्य स्थानबाट पनि कुखुरा नियन्त्रणमा लिने कार्य भइरहेको छ ।
बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध लगत्तै प्रहरीले सुरु गरेको ‘सर्च अप्रेसन’को क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।
उनले सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझैँ धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दाबी गरे । बरामद गरिएका कुखुरालाई पशु क्वारेनटाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको उनले जानकारी दिए ।
कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि एसपी राठौरले बताए ।
नेपालगन्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारबाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारबाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए ।
भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ ।
सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताए ।
उनले विभिन्न नाकामा खटिने प्रहरीकै मिलेमतोमा निरन्तर भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली किसान र व्यवसायी पीडित बनेको पनि दुःखेसो पोखे ।
बाँकेको सीमानाका जमुनाहा, साईगाउँ र नरैनापुर क्षेत्रबाट दैनिक ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानको गुनासो छ । पटक–पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँदा पनि कारबाही नभएको अधिकांश व्यवसायी र किसानले बताएका छन् ।
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति