बाँके प्रहरीले खोज्न थाल्यो अबैध कुखुरा र तस्कर


बाँके प्रहरीले खोज्न थाल्यो अबैध कुखुरा र तस्कर

File Photo

नेपालगन्ज ४ चैत्र : भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ ।

कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकाहरूमा कडाइ गर्दा ठूलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् ।

सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगन्ज १० शीतलनगरमा लुकाईछिपाई राखेको एक लाख ५० हजार भन्दा बढी मूल्यको २१९ ओटा कुखुरालाई बाँके प्रहरीले बरामद गर्न सफल भएको छ । सोही प्रकारले अन्य स्थानबाट पनि कुखुरा नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध लगत्तै प्रहरीले सुरु गरेको ‘सर्च अप्रेसन’को क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझैँ धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दाबी गरे । बरामद गरिएका कुखुरालाई पशु क्वारेनटाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको उनले जानकारी दिए ।

कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि एसपी राठौरले बताए ।

नेपालगन्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारबाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारबाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए ।

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ ।

सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताए ।

उनले विभिन्न नाकामा खटिने प्रहरीकै मिलेमतोमा निरन्तर भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली किसान र व्यवसायी पीडित बनेको पनि दुःखेसो पोखे ।

बाँकेको सीमानाका जमुनाहा, साईगाउँ र नरैनापुर क्षेत्रबाट दैनिक ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानको गुनासो छ । पटक–पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँदा पनि कारबाही नभएको अधिकांश व्यवसायी र किसानले बताएका छन् ।