मानव बेचबिखन रोकथामका लागि जमुनाह नाकामा सीसी क्यामेराबाट निगरानी


मानव बेचबिखन रोकथामका लागि जमुनाह नाकामा सीसी क्यामेराबाट निगरानी

नेपालगन्ज २६ चैत्र : मानव बेचविखन रोकथामका लागि बाँकेको जमुनाह नाकामा अत्याधुनिक सुविधासहितको सीसी क्यामेरा जडान गरिएकोछ । मानव बेचविखनविरुद्ध काम गर्दै आएको शक्ति समूहले नेपालगन्जको जमुनाह नाकामा सात वटा सीसी क्यामेरा जडान गरिदिएको हो ।

महिला तथा बालबालिकालाई भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण कामका लागि लैजाने प्रमुख नाकामध्येको चर्चित नेपालगन्ज नाकामा बेचविखन रोकथामका लागि शक्ति समूहले सीसी क्यामेरा जडान गरेको हो ।

अत्याधुनिक तथा उच्च क्षमताका ७ वटा सीसी क्यामेरा जमुनाह नाकामा जडान गरिएकोछ । जसको आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्य र शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले औपचारिक उद्घाटन गरे ।

उक्त सात वटामध्ये चार वटा नाकामै दुई वटा बालमैत्री मनोविमर्श परार्मश केन्द्र र एउटा ईप्रका जमुनाहको कार्यालय अगाडी बाटोमा सीसी क्यामेरा राखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

३६० डिग्री सम्मको दृष्य कैद गर्न मिल्ने हाई डेफिनेसनको जुमिङ्ग पावर भएको पिटीजेड सीसी क्यामेरा र ५ मेगापिक्चलको बुलेट सीसी क्यामेरा जडान गरिएकोछ । उक्त सीसी क्यामेरालाई आवश्यकता अनुसार ‘रोटेट’ गर्न मिल्नुका साथै टाढाको दृष्य ‘जुम’ गरि ‘अब्जेक्ट’ पहिचान गर्न सकिन्छ । यस क्यामेराबाट कैद भएको दृष्य उच्च क्वालिटिको हुने र ४२ दिनसम्म स्टोर गरेर राख्न मिल्नेछ ।

शक्ति समूहले जडान गरेको उक्त सीसी क्यामेरा फाल्कन आइज कम्पनी काठमाण्डौंले जडान गरेकोहो । कम्पनीका टेक्निसियन एक बहादुर खड्काका अनुसार यसको कन्ट्रोल दुई ठाउँबाट गर्ने गरि ब्यवस्था मिलाइएकोछ ।

यसैबीच, सीसी क्यामेरा उद्घाटनसंगै भएको मानव बेचविखन विरुद्धको कार्यलाई प्रभावकारी व्यवस्थापन गर्नका लागि भएको छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले सीसी क्यामेराले सीमानाकामा व्यवस्थापनमा सघाउ पुर्याउने विश्वास ब्यक्त गरे । उनले मानव बेचिवखन लगायतको अपराधिक गतिविधिलाई नियन्त्रणमा सहयोग हुने बताउँदै यसको मर्मत र प्रयोगलाई दीर्घ बनाइएने बताए ।

शक्ति समूहका अध्यक्ष तामाङले सीसी क्यामेराले मानव बेचिवखन रोकथामसंगै प्रमाण संकलनमा मद्दत पुग्ने विश्वास ब्यक्त गरिन् ।

मानव बेचविखनविरुद्धको निगरानी कार्यलाई व्यवस्थित र प्रभावकारीरुपमा सम्पादन गर्न भएको छलफलमा बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख एसपी रमेशविक्रम शाही, अधिवक्ता बसन्त गौतम, शक्ति समूहका लुम्बिनी प्रदेश संयोक निर्मला पौडेलले मानव बेचविखन रोकथाम सबैको साझा दायित्व भएको बताउँदै नाकाको निगरानीलाई प्रभावकारी बनाउन सीसी क्यामेराले सघाउ पुग्ने बताए ।

शक्ति समूहले ईलाका प्रहरी कार्यालय जमुनाहको हाताभित्र बालमैत्री मनोविमर्श परामर्श केन्द्र र जिल्ला प्रहरी कार्यालयमा बाल निगरानी कक्ष बनाएकोछ ।