चर्चित ‘डन’ चक्रे मिलनलाई ‘पोइन्ट टुटु’* राइफलको सुरक्षा, युवा महाधिवेशन स्थल निर्धक्क पुगे

छेउमै रहेका सुरक्षाकर्मीले चक्रेलाई चिन्न सकेनन्


चर्चित ‘डन’ चक्रे मिलनलाई ‘पोइन्ट टुटु’* राइफलको सुरक्षा, युवा महाधिवेशन स्थल निर्धक्क पुगे

चक्रे मिलन (सानो घेरा) र उनको सुरक्षार्थ खटिएका युवकले बोकेको हतियार ‘पोइन्ट टुटु’* राइफल (ठुलो घेरा) ।

नेपालगन्ज २८ चैत्र : ‘चक्रे’ भनिने चर्चित ‘डन’ मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ शान्ति सुरक्षालाई चुनौती दिँदै हतियार ‘पोइन्ट टुटु’* राइफलसहितको सुरक्षा घेरामा देखिएका छन् ।

गुण्डा नाइकेहरू ‘घैंटे’ भनिने कुमार श्रेष्ठ र ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरी इन्काउण्टरमा मारिएपछि गुण्डागर्दी हटेको भनिएको थियो । त्यसपछि स्वयं चक्रे मिलन पनि गुमनाम बसेका थिए । तर, अहिले उनका केही गतिविधि अस्वाभाविक देखिएको छ ।

बेलाबखत नेपाल प्रहरीको निगरानीमा रहने गरेका चक्रे मिलनले ‘पोइन्ट टुटु’* राइफलसहितको सुरक्षा घेरामा रहेर शान्तिसुरक्षालाई चुनौती दिएका हुन् ।

दुई दिनअघि (आईतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन् । उनी आफ्ना सहयोगीका साथ होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

‘पोइन्ट टुटु’* राइफलसहितको सुरक्षा घेरामा देखिएको भिडियो सार्वजनिक भएको भोलिपल्ट चक्रे नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेका चक्रे मिलन सोमबार महाधिवेशन स्थलमा समेत देखिए ।

युवाको एक समुह घेराभित्र रहेका उनी सुरक्षाकर्मीलाई चुनौती दिदैँ सरासर महाधिवेशन स्थलको मुख्य मञ्चमै गए । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मञ्चासिन थिए ।

युवाको घेराभित्र निर्धक्क हातारिँदै मञ्चतर्फ पुगेका उनलाई त्यही छेउमा रहेका सुरक्षाकर्मीले समेत चिन्न सकेनन् । महाधिवेशन मञ्चसँगै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत उनलाई को हुन् भन्ने समेत पत्तो भएन । यतिमात्र होइन महाधिवेशन स्थलको मञ्च छेउमा सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ रहेका अधिकांश सञ्चारकर्मीले समेत को हुन् भनेर चिन्न सकेनन् ।

सोही छेउ भएर उनी युवासंघका महासचिव क्षितिज थैवेले कार्यक्रम सञ्चालन गरिरहेको ठाउँबाट मञ्चमा उक्लिए । महाधिवेशन मञ्चबाट उनी त्यसरी नै बाहिरीए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष समेत रहेका ज्ञानु ओली र विमल केसीको निमन्त्रणामा नेपालगन्ज पुगी युवासंघको महाधिवेशन स्थलमा समेत पुगेका हुन् । उनको सुरक्षामा खटिने युवक गणेश बोगटी भएको बताइएकोछ ।

‘पोइन्ट टुटु’* राइफलसहितको सुरक्षा घेरामा देखिएको भिडियो हटाइयो

नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त भएपछि चक्रे मिलन यसरी खुला रूपमा हतियारसहितको सुरक्षामा देखिएका हुन् । चक्रे मिलन आफ्नो सुरक्षामा खटिएका युवकसँग होटलबाट निस्कँदै गरेको भिडियो सोमबार दिउँसो बाहिरिएको थियो ।

सो भिडियोमा ‘पोइन्ट टुटु’* राइफल बोकेका युवकले उनलाई सुरक्षा दिएको देखिएको छ । उनको पछिपछि हिँडेका ती युवकका हातमा भएको सो हतियार पनि भिडियोमा प्रस्ट देखिएको छ । उक्त हतियार ‘पोइन्ट टुटु’* राइफल नै भएको सुरक्षाकर्मीहरूको निष्कर्ष छ ।

ज्ञानेन्द्र ओली ५७ नाम राखेर टिकटकबाट भिडियो सार्वजनिक गरिएको थियो । पछि उक्त भिडियो हटाइएको छ । यसअघि प्रहरीले काठमाडौंका गुण्डाहरूबाट बेलाबखत चाइनिज पेस्तोल तथा अन्य साना हतियारहरू बरामद गरेको थियो ।

यस्तो छ नालीबेली

काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुण्डागर्दी गर्ने क्रममा उदाएका चक्रे मिलन राजधानीमा चर्चामा आएका पुराना डनमध्येमा एक हुन् ।

ठमेलबाट गुण्डा गर्दै थाले पनि पछि ठमेलमाथि दीपक मनाङले कब्जा गरेपछि उनी कार्यक्षेत्र बदलेर महाराजगञ्ज चक्रपथ पुगेका थिए । आफ्नो क्षेत्र बनाएर डनगिरी गर्ने गरेका उनले डान्स बार र रेस्टुरेण्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा गर्दै आएका थिए । उनलाई पैसा नबुझाई कसैले त्यहाँ होटल र रेस्टुरेण्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो । चक्रे मिलन धेरैपटक पक्राउ पर्ने र छुट्ने गरेका छन् ।

काठमाडौंको चक्रपथ र ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने, त्यहाँ सञ्चालनमा रहेका होटल, रेस्टुरेण्ट र म्यानपावर कम्पनीलाई आफ्नो हातमा लिएर हप्ता उठाउँदै आएकाछन् ।

२०७४ सालपछि उनी प्रहरीको नियन्त्रणमा छैनन् । २०७४ वैशाखमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको चक्रपथस्थित उनकै घरमा गएर चक्रे मिलनलाई पक्राउ गरेको थियो ।

स्थानीय चुनावको सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै महाशाखाले उनलाई पक्राउ गरेको हो । त्यसपछि प्रहरीले सामान्य कागज गरेर छाडिएका उनीमाथि अहिले भने सामान्य निगरानी पनि नराखिएको अवस्था छ ।

२०७९ सालको संघीय संसदको निर्वाचनका लागि उनलाई गोरखा क्षेत्र २ बाट एमालेले उम्मेदवारमा सिफारिस गरेको थियो । त्यतिबेला उनी गोरखा पुगेका थिए । गुरुङसँगै एमालेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको थियो । तर, पछि उनलाई उम्मेदवार बनाइएन । २०७१ सालमा चक्रे मिलन सम्पत्ति शुद्धीकरणको मुद्दामा एक करोड धरौटी बुझाएर छुटेका थिए ।

तनहुँको व्यास नगरपालिकास्थित अर्कैका नामको जग्गा धरौटीमा राखेर उनी छुटेका थिए । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० जेठ अन्तिम उनीसँग एक करोड धरौटी मागेको थियो । तर, लागुऔषधको मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहेका कारण उनले धरौटी बुझाएनन् । थुना छुटेलगत्तै एक करोड धरौटी राखेका उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिइसकेको छ । उनीविरुद्ध विभागले १४ करोड रूपैयाँबराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको अभियोग लगाएको थियो । तर, उनले आफ्नो पुरानो धन्दालाई कायम राखेको देखिन्छ ।

* यसअघि हतियारको नाम फरक पर्न गएकोमा सच्याइएको छ ।