बाढीले भत्काएको तटबन्ध एक वर्ष पुग्नै लाग्दा मर्मत भएन, १० हजार मानिसको ज्यान जोखिममा

नेताहरुलाई गाउँ पस्न निषेध गर्ने स्थानीयबासीको चेतावनी


बाढीले भत्काएको तटबन्ध एक वर्ष पुग्नै लाग्दा मर्मत भएन, १० हजार मानिसको ज्यान जोखिममा

File Photo

फत्तेपुर (बाँके) १० वैशाख : बाँकेको फत्तेपुरमा गतवर्ष बाढीले भत्काएको तटबन्ध वर्षदिन वित्नै लाग्दा पनि मर्मत गरिएको छैन । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ फत्तेपुरमा निर्मित उक्त तटबन्ध गत वर्ष राप्ती नदिमा आएको बाढीका कारण भत्किएको थियो । तर, अर्को वर्षको बर्खायाम आउनै लाग्दासम्म पनि अझै मर्मत गरिएको छैन ।

नरैनापुर गाउँपालिका–६, गंगापुर गाउँका स्थानीय अगुवा रामचन्द्र यादवले तटबन्ध भत्किएको एक वर्ष हुन लाग्दा पनि अहिलेसम्म मर्मत नगरिएको भन्दै आक्रोश पोखे ।

‘यो तटबन्ध भत्किएको एक वर्ष हुन लाग्यो, तर अहिलेसम्म सरकारले ध्यान दिएको छैन, यस क्षेत्रका बासिन्दालाई ‘भोट बैंक’ मात्र बुझ्ने नेता छन्, बर्खाको मौसम आउन दुई महिना मात्र बाँकी तर, यसमा कुनैपनि राजनीतिक दलका नेताले तटबन्धका लागि पहल गरेको मैले सुनेको छैन,’ उनले भने ।

उक्त तटबन्ध पूर्ण रुपमा भत्किएमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ७ फत्तेपुर र नरैनापुर गाउँपालिका–६ गंगापुरका करिब १० हजार मानिसको ज्यान जोखिममा रहेको र हजारौं विघा खेती योग्य जमिन नष्ट हुने यादव बताउँछन् । क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसदले चुनावमा तटबन्ध मर्मत गरिदिने आश्वासन जनतालाई दिएपनि अहिले चटक्कै बिर्सेको उनको गुनासो छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘काम गर्नलाई बैशाख र जेष्ठ महिना मात्र बाँकी छ, तर अहिलेसम्म केही काम भएको छैन, न स्थानीय सरकारले न प्रदेश सरकार र न त केन्द्र सरकारले ध्यान दिएको छ,’ काँग्रेसका युवा नेता यादवले भने ‘यो तटबन्ध निर्माण गर्नका लागि छिटोभन्दा पहल गर्न सरोकारवालाहरूलाई मेरो हार्दिक अनुरोध छ ।’

तटबन्ध मर्मत नभएमा राप्तीसोनारी–७ र नरैनापुर–६ मा नेताहरुलाई गाउँ पस्न निषेध गर्ने चेतावनी दिएका छन् । यादवले थपे, ‘तसर्थ छिट्टै यस तटबन्ध निर्माणको पहल गरि काम अगाडी बढाईयोस् भनी जोडदार माग गर्दछु ।’

यादवले जनताको ज्यान नै नरहेमा नेता र पार्टीको केही अर्थ नरहने भन्दै पार्टी भन्दा माथी उठेर सबैले पहल गर्नुपर्ने बताएका छन् । ‘तत्काल यो काम सुरु नभएमा हामी आन्दोलन गर्न बाध्य हुनेछौ,’ उनले भने ।

बर्षेनी राप्तीनदीमा आउने बाढीका कारण राप्ती वारी र पारी ठूलो क्षति हुने गरेकोछ । यतिबेला बाँकेको दुर्गम क्षेत्र मानिने बघौडा सदरमुकाम नेपालगन्जसँग सोझै पक्कि सडक सञ्जालसँग जोडिएको भएपनि सो क्षेत्र बर्षेनी राप्ती नदिमा आउने बाढिसँगै डुवान, कटान र पटानले वितण्डता मच्चाउने गरेकोछ ।