नेपालगन्जमा राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन

राजा ज्ञानेन्द्रले भने–‘राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुटौं’


राजा ज्ञानेन्द्रले भने–‘राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुटौं’

नेपालगन्जमा बुधबार नागरिक अभिनन्दनका क्रममा सम्बोधन गर्दै राजा ज्ञानेन्द्र शाह । तस्विर: विजय मल्ल/सेतोखरी

नेपालगन्ज २० वैशाख : राजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगन्जमा सम्बोधन गर्दै राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आह्वान गरेकाछन् ।

नेपालगन्जमा बुधबार गरिएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै उनले नेपालीले अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने उल्लेख गर्दै यसका लागि सबै तहका नागरिकहरु जुट्नुपर्ने बताए ।

‘नेपालगन्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आज कटु यथार्थ देख्न, भोग्न र भन्न बाध्य भएका छौँ । अब म भन्छु, अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । यसको निम्ति के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवि बुढाबुढी सबै अब जुुट्नुपर्दछ’ उनले भने ।

उनले आफ्नो नारा जहिले पनि देश बनाऊँ, देशबासीको अवस्था सुधारौं, ब्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुखसमृद्धि दिउँ भन्ने रहेको उल्लेख गरे ।

नीतिहरुमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन नसकिरहेको बताउँदै राजा ज्ञानेन्द्रले ‘हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्तिी हुनुपर्ने हो तर, बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका निम्ति भइरहेकोछ ।’

उनले चौसठ्ठी वर्ष अघि यही भूमीमा उभिएर राजा महेन्द्रले नेपालको तत्कालीन राज्यविधिका बारे– नेपालका तत्कालीन राजनीतिक दलहरुलाई केही सचेतनामुलक सम्बोधन भएको स्मरण पनि गरे ।

‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रा अवस्था त्यही र त्यस्तै परिसिस्थतीमा छ ।’

‘सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि यसै अवधिमा भएको हो । तर, यता आएर ती पूर्वाधार, ती औद्योगिक आधार, ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन’ राजा ज्ञानेन्द्रले अगाडी थपे–‘अहिले भएगरेका संरचना भत्काउँदै जाने, रुपान्तरका नाममा विकार खडा गर्ने र परनिर्भरतातिर बेतोडले दौडने काम नै चलिरहेको बताउँदै चौसठ्ठी वर्ष पूर्वको चेतनाको त्यो झिल्को कताकता अहिलेको खाँचो झैँ झल्किरहेको छ ।

‘हाम्रो प्रकृति, हाम्रो श्रमशक्ति र हाम्रो बुद्धि गरिब छैन, गरिबी हाम्रो नियति बनेको छ । दुई छाक खान र एक धरो लाउन हामी धेरैलाई धौधौ छ । हाम्रा विकसित शहरहरु, गाउँहरु आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्, त्यसैले त हाम्रो होनहार युवाशक्ति बेरोजगारीका कारण विदेशिन बाध्यछन्’ राजा ज्ञानेन्द्रले भने ।

नागरिक अभिनन्दन मुल समारोहका संयोजक प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणाले राजा ज्ञानेन्द्रलाई अभिनन्नद पत्र प्रदान गर्दै । तस्विर : विजय मल्ल /सेतोखरी

विक्रम सम्बतको दुई हजारको दशकदेखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरुको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधिप्रकृयाका कामहरु भएको स्मरण गर्दै राजा ज्ञानेन्द्रले भने महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्थ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास, शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मुलुकी ऐन, भूमी सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै क्रियाकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि भएको राजा ज्ञानेन्द्रले स्मरण गराए ।

राजा ज्ञानेन्द्रले नेपालगन्ज जस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको पनि बताए ।

उनले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको स्मणर गरे । उनले भने–‘त्यो हाम्रो गौरवको विषय हो । हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौं र त्यसमा गर्व गर्दछौं । यस्तो गौरबको गति हामीले सदा राख्नुपर्दछन । हाम्रो यही मान्यता हो ।’ नेपालगन्जमा पाइला टेकपछि आफूलाई आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आएको उनले उल्लेख गरे ।

‘अस्ति सोमबार साँझ म देवीभगवती बागेश्वरीको सन्ध्याआरतीमा संलग्न भए । मलाई अन्तरआत्मादेखि नै अपार आनन्दको अनुभूति भयो । त्यहाँ तपाईहरु नेपालगन्जबासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो ।’ उनले आफ्नो सम्बोधनका क्रममा भने ।

राजा ज्ञानेन्द्र शाहको नेपालगन्जमा बुधबार नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मुल समारोह समिति नेपालगन्जको अगुवाईमा स्थानीय रामलिला मैदानमा आयोजित अभिनन्दन गरिएको हो । सो क्रममा नेपालगन्जका डेढ दर्जन सामाजिक संस्थाको तर्फबाट राजा शाहलाई अभिनन्दन पत्र प्रदान गरियो । नागरिक अभिनन्दन समारोहमा राजा ज्ञानेन्द्रसहित रानी कोमल शाह, बुहारी हिमानी शाह, छोरी प्रेरणा लगायत सहभागी भए ।

राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दका क्रममा नागरिक अभिनन्दन मुल समारोहका संयोजक राप्रपाका महामन्त्री एवम प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणाले राजा ज्ञानेन्द्रलाई अभिनन्नद पत्र प्रदान गरेका थिए ।पश्चिम नेपालको एक महिने भ्रमणका लागि राजा ज्ञानेन्द्र शाह गत वैशाख १५ गते नेपालगन्ज आएका हुन् ।

थप समाचार

महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड

महाआरतीमा राजापरिवार सहभागि हुँदै, भव्य तयारी

नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ