गहुँ लोड गरिएको ट्याक्टरभित्र २६ थान सालको अवैध काठ


गहुँ लोड गरिएको ट्याक्टरभित्र २६ थान सालको अवैध काठ

File Photo

नेपालगन्ज २९ वैशाख : गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाएर नेपालगन्जतर्फ ल्याउँदै गरेको २६ थान सालको अवैध काठ सशस्त्र प्रहरीले बरामद गरेकोछ ।

बाँकेको नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ ल्याउदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरी बल गंगापुरले नियन्त्रणमा लिन सफल भएको हो ।

नरैनापुर वडा नम्बर–४ देखि गहुँ लोड गरिएको भे.१ त.६८०६ ट्याक्टरभित्र सालको २६ थान चिरान (फ्रेम) सहित ट्याक्टरसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएकोछ ।

सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाका अनुसार विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर–४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाई छिपाई नेपालगन्जतर्फ ल्याउँदै गरेको उक्त अवैध काठ नरैनापुर वडा नम्बर–६ जमुनीबाट बरामद गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचना पाएपछि खानतलासीबाट काठ र ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिए ।

सशस्त्र प्रहरीले उक्त काठ र ट्याक्टरलाई डिभिजन वन कार्यालय बाँकेमा आवश्यक कारबाहीका लागि बुझाएको छ । उक्त काठ कहाँबाट र कुन ठाउँ लैजादैँ गरिएको थियो सो कुरा अनुसन्धानबाट खुल्ने सशस्त्र प्रहरीले जनाएकोछ । यस्तै, ट्याक्टरमा लोड गरिएको गहुँ नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएकोछ ।