आगलागीबाट जमुनाहा गाउँका ११ घर जलेर नष्ट


आगलागीबाट जमुनाहा गाउँका ११ घर जलेर नष्ट

नेपालगन्ज १४ जेठ : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–५ को जमुनहा गाउँमा आगलागी भएको छ । आज दिउँसो १२ बजे भएको आगलागीमा ११ जनाको घर र एउटा गोठ जलेर नष्ट भएको छ ।

स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरिक्षक राजन रायमाजीले बताए ।

आगलागीका कारण १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगन्जको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

१२ बजे सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह दमकल लिएर आगो नियन्त्रण गर्न पुगेका थिए ।

अध्यक्ष शाहले समयमै घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिएकोले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए । पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौ आगलागीको घटना हुने गरेको छ ।