बैजनाथलाई जैविक पालिका बनाउदैछौं : अध्यक्ष शाही


बैजनाथलाई जैविक पालिका बनाउदैछौं : अध्यक्ष शाही

रामपुर(बैजानाथ) १४ जेठ : बैजनाथ गाउँपालिकालाई जैविक पालिका बनाउने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताएकाछन् । उनले जैविक पालिका बनाउनका लागि आफूहरुले नीति तथा कार्यक्रम नै अघि सारेको बताए ।

दीगो कृषि उत्पादन तथा माटोको उर्वरताका लागि गड्यौली मल प्रर्वद्धनका लागि गाउँपालिका स्तरीय अभिमुखीकरणमा बोल्दै पालिका अध्यक्ष शाहीले यस्तो बताएका हुन् ।

‘रासयनिक मलले जमिनको उर्वराशक्ति नष्ट हुँदै गएको छ, यसले वर्षेनी उत्पादन घटिरहेकोछ, मानव स्वास्थ्यमा समेत यसले ठूलो असर गरिरहेकोछ’ पालिका अध्यक्ष शाहीले अगाडी थपे–‘माटोको उर्वरा शक्ति बचाउन जैविक मलको प्रयोगलाई पालिकाले बढावा दिन किसान लक्षित कार्यक्रमहरु अगाडी सारेको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

‘देशमै सबैभन्दा बढि जनसंख्या भएको पालिका बैजनाथ हो । यहाँका ७०–७५ प्रतिशत जनता कृषिकर्म गरि जिविकोपार्जन गरिरहेकाछन्’ अध्यक्ष शाहीले भने–‘कृषिकर्मका माध्यमबाट बैजनाथलाई आर्थिक समृद्धितर्फ उन्मुख गरिरहेकाछौं ।’

‘किसानले उत्पादन गरेका उत्पादनहरुमा विचौलियाहरु हावि हुँदा उनीहरु सस्तोमा बेच्न बाध्य भएकाछन् । उनका उत्पादनहरु समयमा विक्री हुन सकिरहेको छैन’ गाउँपालिका अध्यक्ष शाहीले अगाडी थपे–‘गरिब, आर्थिक विपन्नता भएका साना तथा मझौला किसानलाई लक्षित गरि पालिकाले ७० प्रतिशत अनुदान दिने नीति ल्याएका छौं ।’

किसानका समस्या, आवश्यकता, अप्ठेरा तथा उनका उत्पादनलाई बजारीकरण गर्न, व्यवस्थित, रासायनिक मल तथा विषादीरहीत उत्पादन बढावा दिन पालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरिरहेकोछ । उनले भने ‘आर्थिक समृद्धिसँग जोडिएको कृषिपेशालाई उत्पादन र जीविकोपार्जनसंग जोड्न किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याइएको हो ।’

उनले किसानमार्फत वैजनाथलाई आर्थिक समृद्धितर्फ उन्मुख गरिरहेको बताउँदै किसानका लागि कृषि एम्बुलेन्स र पालिका विभिन्न ठाउँमा खाद्यान्न खरीद केन्द्र(डिपो) स्थापना गरिने बताए ।

एकीकृत सामाजिक विकास केन्द्र(आईएसडीसी) नेपालले कम्युनिट पार्टनरस इन्टरनेशनल(सीपीआई)को सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा गड्यौली मल प्रर्बद्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

केन्द्रका सचिव तथा परियोजना फोकल पर्शन विष्णु खनालको अध्यक्षतामा भएको उक्त एक दिने अभिमुखीकरणमा संस्थाका प्राविधिक विज्ञ उद्धव बहादुर कार्की, एभरेष्ट अर्गानिक एग्रो फार्मका सहजकर्ता वीरबहादुर हमाल र संस्थाका कार्यक्रम संयोजक शेरबहादुर रौलेले पालिकामा सञ्चालन हुने परियोजनाका बारेमा जानकारी गराएका थिए ।

जिल्लामै पहिलोपटक बैजनाथ गाउँपालिकामा गड्यौली मल प्रर्वद्धन गरिदैँछ । परियोजना अन्र्तगत पालिकाको प्रत्येक वडा समेटिने गरि ९० जना कृषकहरलाई गड्यौली मल तथा जैविक विषदी उत्पादन, प्रयोग र बजारीकरणका लागि क्षमता अभिबृद्धि गरिनेछ । पालिकाका ३५ जना कृषकको घर/खेतमा गड्यौली मल उत्पादन संरचना निर्माण गरि मल उत्पादन कार्यलाई निरन्तरता दिने र नमुना पोषण बगैचा बनाई साग, तरकारी तथा अनय बाली उत्पादनमा सहयोग र सहजीकरण गरि पालिकालाई जैविक पालिका बनाउन सहजीकरण गरिने कार्यक्रम रहेको संस्थाका कार्यक्रम संयोजक शेरबहादुर रौलेले जानकारी दिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडाअध्यक्षहरु क्रमश रुपबहादुर मल्ल, राजु रुचाल ठकुरी, निखील बैगार, प्रेमबहादुर शाही, देवबहादुर रावत, भुपाल पुनमगर, दिनेश थारु र भगन थारु, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । 

उनीहरुले रसायनिक मलले मानव स्वास्थ्यमा ठूलो असर पर्ने जान्दा जान्दै उत्पादन बढी गर्ने होडबाजी चलिरहेकोले जैविक मलको प्रर्वद्धन गर्नुको विकल्प नभएको बताएका थिए । जमिनको उर्वरशक्ति संरक्षण गर्न, अर्गानिक उत्पादन बढावा दिन र कृषिकर्मबाट आर्थिक समृद्धिका लागि जैविक पालिका बनाउन लागि पर्ने उनीहरुले प्रतिबद्धता समेत जनाए ।