सय कठ्ठा जग्गा हडप्न सत्यप्रकाशको योजना, रामकिशोरको हत्या की मृत्यु ?

सत्यप्रकाशले रामकिशोरको मृत्युकै दिन जनैमा बाँधेको चाबी निकाली बाकसहरु खोलेर सबै कागजपत्र लिएर मात्र गएनन् घरमा भोटे ताल्चा लगाई काकी लक्ष्मिलाई काजक्रिया समेत गर्न नदिई धपाए


सय कठ्ठा जग्गा हडप्न सत्यप्रकाशको योजना, रामकिशोरको हत्या की मृत्यु ?

नेपालगन्ज १६ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १९ निवासी रामकिशोर तिवारीको हत्या की मृत्यु शंकास्पद रहेको छ । घटनाक्रम जसरी अगाडी बढिरहेकोछ त्यसरी नै मृत्यु भएको भनिएका रामकिशोरको हत्या हो की मृत्यु रहस्यमय बन्दै गइरहेकोछ । रामकिशोरको मृत्यु लगत्तै उनका भतिज सत्यप्रकाश तिवारीको गतिविधिले थुप्रै शंका उपशंका उब्जाइरहेको छ ।

घटनाक्रम यसरी अगाडी बढ्छ

रामकिशोर तिवारीको करिब एक सय २८ कठ्ठा जमिन छ । त्यो पनि नेपालगन्जको सोल्टी होटल वरिपरि । रामकिशोरको हकवाला उनकी श्रीमती लक्ष्मि सिजगरीबाहेक कोही हुदैन । उनको सम्पत्तीमा आँखा भतिजा सत्यप्रकाश तिवारीले पहिलेदेखि नै लगाएको देखिन्छ ।

लक्ष्मि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ स्थित माईती गएकी हुन्छिन् । रामकिशोरको सवारीको साधन भनेकै अटोरिक्सा हुन्छ । उनले सवारी बोक्ने भन्दा पनि आफू हिँडडुल गर्न त्यही अटोरिक्सालाई साधन बनाएका हुन्छन् । उनले सुत्ने बेला अटोरिक्साको ब्याट्री चार्जमा राख्ने र विहान आफूलाई आवश्यक पर्ने समयमा अटोरिक्सामा हिँडडुल गर्दै आएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

मिति २०७९ भदौ ५ गते विहान लक्ष्मिको मोबाईलमा फोन जान्छ । रामकिशोरको मृत्यु भयो भनेर । माईतीमा रहेकी लक्ष्मि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको घरमा आउँछिन् । दुई–तीन दिन अघि मात्र लक्ष्मि माईत गएकी हुन्छिन् । घरमा आउँदा त श्रीमानको मृत्यु भइसकेको हुन्छ । भतिजा सत्यप्रकाशले ब्याट्री चार्ज गर्दा करेन्ट लागेर काकाको मृत्यु भएको सबैलाई बताउँछन् ।

लक्ष्मि माईतबाट घरमा आइनपुग्दै सत्यप्रकाशले काकाले लगाएको जनै काटि, जनैमा बाँधेको चाबी निकालेर बाकसमा रहेका नागरिकता, जग्गाका लालपुर्जाहरु लगायत सबै कागजपत्र बटुलेर लुकाइसकेका हुन्छन् ।

अनि लक्ष्मि आइसकेपछि काका रामकिशोरको लाश(शव)लाई दाहसँस्कारका लागि सत्यप्रकाशको घरपरिवारले लिएर जान्छन् । रामकिशोरको लासलाई बाहिर निकाल्ने वित्तिकै सत्यप्रकाशले उनको घरमा भोटे ताल्चा लगाएर जान्छन् । श्रीमानको काजकृयाका लागि लक्ष्मि घरमा पर्खेर बसिरहेकी हुन्छिन्, अन्ध्याँरो हुँदा पनि सत्यप्रकाशले ताल्चा नखोलिदिएपछि उनी छतमाथि गएर बस्छिन् । श्रीमानको मृत्युको पीडा छ नै सम्पत्ती हडप्न सत्यप्रकाशले घरमा ताल्चा लगाएर गएपछि लक्ष्मिले न श्रीमानको काजकृया गर्न पाउँछिन, न घर भित्र बस्न पाउँछिन् ।

तीन दिनसम्म काजकृयाका लागि घरको छतमाथि पर्खेएकी लक्ष्मिले सत्यप्रकाशले ताल्चा नखोल्दिएपछि माईती घर गएर बस्न बाध्य हुन्छिन् ।

रहस्य के–के हो त ?

– श्रीमती लक्ष्मि सिजगरी माईती गएको बेला रामकिशोरको शंकास्पद मृत्यु हुनु ।
– हरेका दिन बेलुका चार्जमा राख्ने गरेको अटोरिक्साको ब्याट्री किन त्यसदिन विहान चार्जमा लगाउन खोजियो ?
– ब्याट्री चार्ज गर्दा करेन्ट आफै लाग्यो की उनलाई लगाइयो ?
– रामकिशोरको मृत्यु हुनेवित्तिकै सत्यप्रकाशले जनै काटेर चावि निकालि सबै कागजपत्र किन लगे ?
– काका रामकिशोरको शव बाहिर निकाल्ने वित्तिकै सत्यप्रकाशले काका रामकिशोरको घरमा ताल्चा किन लगाए ? र, काजकृया समेत गर्न नदिई काकीलाई किन लखेटे ?
– काकाको मृत्यु लगत्तै आफू सम्पत्तीको हकवाला बनेर करोडौं मूल्य पर्ने जमिन आफ्नो नाममा ल्याउनलाई किन सत्यप्रकाशले वडादेखि मालपोत कार्यालयसम्म प्रकृया अघि बढाए ?

यी कुराहरुले सत्यप्रकाश तिवारी शंकाको घेरमा देखिन्छन् । र, उनले काका रामकिशोरको सम्पत्ती हड्प्न योजनाबद्ध लागेको देखिन्छ ।(एकल महिलाको एक सय कठ्ठा जमिन हडप्न मालपोतदेखि नेतासम्म)

लक्ष्मिको विवाह नेपालगन्ज वडा नम्बर– १९ का रामकिशोर तिवारीसँग २०७९ वैशाख ८ गते भएको थियो । दुबैको विवाह हिन्दू धर्म परम्पराअनुसार बागेश्वरी मन्दिरमा जन्तिहरुको उपस्थितीमा पण्डीत राखेर भएको विवाहको तस्विर र भिडियोले पुष्टि गर्छ ।

विवाह भएको महिनादिनमै श्रीमान रामकिशोरको करेन्ट लागेर मृत्यु भएको बताइएपनि उनको मृत्यु कसरी भयो भन्ने शंकास्पद नै देखिन्छ । विवाह लगत्तै श्रीमानको मृत्यु भएपछि लक्ष्मिले विवाह दर्ता समेत गराउन पाएकी थिएनन् ।

श्रीमान रामकिशोरको श्रीमती लक्ष्मि बाहेक सम्पत्तीको हकदार अरु कोही थिएन । रामकिशोरका दाजुभाईहरुबीच पहिले नै अंशबण्डा भइसकेको थियो । श्रीमान रामकिशोरको मृत्यु लगत्तै एक सय कठ्ठा भन्दा बढि जमिन लगायत सबै सम्पत्ती श्रीमती लक्ष्मिले स्वतः कानूनबमोजिम पाउनु पर्ने हो । तर, रामकिशोरका दाईका छोरा सत्यप्रकाश तिवारीले काकाको सम्पूर्ण अंश आफूले पाउनुपर्ने भन्दै सम्पत्तीमा दावि गरे ।

श्रीमानको मृत्युपश्चात सत्यप्रकाशले आफ्नी काकीलाई घरनिकाला मात्र गराएनन्, नेपालगन्ज– १९ नम्बर वडाअध्यक्षलगायत सबैलाई प्रवाहित पार्दै लक्ष्मिको विवाह दर्ता हुुन दिएनन् । लक्ष्मिको तर्फबाट बोलिदिने कोही भएन ।यही जेठ १७ गते बुधबार मुद्दाको पेशी रहेकोछ । न्यायालयलाई समेत प्रभावित पार्ने गरि गिरोहले जग्गा हडप्न लागिपरेको पीडित लक्ष्मिले सेतोखरीलाई बताईन् ।

लक्ष्मिले रुदैँ भनिन्–‘मेरो श्रीमान वितेको पीडा ताजै छ, त्यसैमा पापीहरु मेरो जग्गा हडप्न लाखौं रुपैयाँ खर्च गरेर लागिरहेकाछन् । म न्यायालय, वकिल, प्रहरी, प्रशासन, नागरिक समाज, अधिकारकर्मी सबैसँग आग्रह गर्छु मेरो अधिकार बमोजिम मेरो श्रीमानको सम्पत्ती मलाई दिलाइयोस् । पैसाको चलखेलमा मेरो अधिकार खोसेर सम्पत्ती अरुलाई नदिइयोस् ।’

आफ्ना काका रामकिशोरसंग लक्ष्मिको विवाह नै नभएको भन्दै गोप्यरुपमा सत्यप्रकाशले राजनीतिक दलका केही नेता, वडाअध्यक्ष सबैलाई मिलाएर जग्गा आफ्नो नाममा ल्याउनका लागि कागजपत्र तयार पारे ।

जग्गा नामसारीका लागि गुपचुपमा ठूलो गिरोसँग मिलेर मालपोतमा फाईल बुझाए । मालपोत कार्यालयलाई समेत प्रभावित पार्दै गिरोहले मृतक रामकिशोरको एक सय कठ्ठा भन्दा बढि जग्गामध्ये ५० प्रतिशत जग्गाा रामकिशोरले पाउने र ५० प्रतिशत गिरोहले बाँड्ने शर्तमा सत्यप्रकाशसँग सम्झौता गरि मालपोत कार्यालयमा काम अगाडी बढ्यो ।

मालपोत कार्यालयले सत्यप्रकाशका नाममा मृतक रामकिशोरको जग्गा नामसारी गर्नका लागि कोहि नजिकको हकवाला दावि गर्ने छ की छैन भन्दै सूचना प्रकाशित गरेपछि रामकिशोरकी श्रीमति लक्ष्मि सिजगरीले उच्च अदालत तुलसिपुर नेपालगन्ज इजलासमा उक्त जग्गा नामसारी रोक्नका लागि निवेदन दर्ता गराईन् ।

सत्यप्रकाश तिवारीले भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका जग्गा नामसारी गरि पाऊँ भनि २०७९असोज १४ गते दर्ता नम्बर ६६२६ को निवेदन दर्ता गराएका थिए । उक्त जग्गा रोक्का राखि पाउँ भनि श्रीमति लक्ष्मि सिजगरीले विवाहको फोटो, भिडिओसहितका प्रमाण साथमा राखि २०७९ कात्र्तिक १४ गते दर्ता नम्बर ७७७३ को निवेदन दर्ता गराईन् ।

जब लक्ष्मिले जग्गा रोक्काको निवेदन दर्ता गराइन् । सत्यप्रकाश तिवारी सहित जग्गा हड्पने गिरोहको योजना चकनाचुर भयो । लक्ष्मिको निवेदनमाथि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरीष्ठतम न्यायाधिश डाक्टर रत्नचन्द बागचन्दको एकल इजलासले उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म विपक्षि सत्यप्रकाशका नाममा जग्गा नामसारी नगर्नु नगराउनु भनि २०७९ फागुन ४ गते अन्तरिम आदेश जारी गरे ।

उक्त अन्तरिम आदेशमा प्रस्तुत निवेदनका साथ पेश भएको श्रव्यदृष्यसहितको भिडियो फुटेज, छाँयाछविबाट निवेदक लक्ष्मि सिजगरीको श्री बागेश्वरी मन्दिर परिसरमा हिन्दू धर्म संस्कार अनुसार बयोबृद्ध रामकिशोर तिवारीसँग विवाह भइरहेको अवस्थामा उक्त अवस्थामा उक्त प्रमाणलाई विपक्षि सत्यप्रकास तिवारीले सप्रमाण खण्डित नगरेसम्म निवेदक लक्ष्मि सिजगरीको रामकिशोर तिवारीसँग विवाह भएको पुष्टि हुने उक्त श्रब्यदृष्य र छायाँछविसहितको प्रमाणलाई अन्यथा भन्न नमिल्ने परिस्थित रहेको देखिदाँ यी निवेदकको उक्त श्रब्यदृष्य र छाँयाछवि संलग्न प्रमाणलाई अनदेखागरि कुनैपनि निर्णय गर्नु सुविधा सन्तुलनका दृष्टिले न्यायोचित नहुने उल्लेखछ ।

प्रस्तुत अन्तरिम आदेशमा भनिएको छ ‘प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म विपक्षि सत्यप्रकास तिवारीको दर्ता नम्बर ६६२६ को जग्गा नामसारी गरिपाउँ भन्ने निवेदनको कारबाही यथास्थितीमा राखि सो उपर कुनै निर्णय नगर्नु नगराउनु भनि उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) (क) र मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) बमोजिम विपक्षिहरुका नाममा अन्तरिम आदेश जारि गरिएकोछ ।’

लक्ष्मिका दाई भरत सिजगरीले आफ्नी बहिनीमाथि गिरोह मिलेर अन्याय गरिरहेको भन्दै न्याय दिलाइदिन न्यायालयदेखि सबै सग अनुरोध गरेका छन् ।

माथीका यी सबै विवरणहरु रामकिशोरकी श्रीमती लक्ष्मि सिजगरी र लक्ष्मिका दाई भरत सिजगरीसँग सेतोखरीले गरेको कुराकानीमा आधारित हुन् ।

थप समाचार

एकल महिलाको एक सय कठ्ठा जमिन हडप्न मालपोतदेखि नेतासम्म