अझै गर्मी बढ्ने, बिरामी पर्न थाले बाँकेमा बालबालिका

घर बाहिर ननिस्किन र झोल पदार्थ प्रशस्त पिउन सुझाव


अझै गर्मी बढ्ने, बिरामी पर्न थाले बाँकेमा बालबालिका

नेपालगन्ज २४ जेठ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर अझैँ गर्मी बढ्ने भन्दै घर बाहिर ननिस्किन सुझाव दिएकोछ । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको भन्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू लाग्ने सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको हो ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना बढ्दोछ । त्यसैले त्यसबाट बच्न उच्च सतर्कता अपनाउन जरुरी छ । तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझैँ तापक्रम वृद्धि हुने पूर्वानुमान महासशाखाले गरेकोछ ।

तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।

गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बिरामी पर्न थाले बाँकेमा बालबालिका

यसैबीच, बाँकेमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।

उनले अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । तीमध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डाक्टर प्रतिमाको भनाइ छ ।

उनले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिए ।

मौसमी फ्लूबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने उनको भनाइ छ । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाब दिए ।

त्यस्तै केयर सिटी अस्पताल नेपालगन्जका बाल रोग विशेषज्ञ डाक्टर विष्णुकुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन सातदेखि आठ जना मौसमी रुघाखोकी र भाइरल फ्लु भएका बालबालिका आउने गरेका छन् ।
उनले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, खाना खानुभन्दा राम्री साबुनपानीले हात धुने, सुईको प्रयोग गर्ने बताए । बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने उनको भनाइ छ ।

नेपलागन्ज कान्ति ओरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर रोमा बोराले दैनिक १५ देखि २० जना बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताइन । उनका अनुसार धेरैजसो बच्चामा ज्वरो, रुघाखोकीको समस्या देखिएको छ ।

खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बिरामी भएको उनको भनाइ छ । सङ्क्रमणबाट बच्नका लागि बालबालिकालाई सकेसम्म माक्स लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने, झोलिलो कुरा खुवाउने, घरभित्रै बच्चालाई राख्ने बालरोग विशेषज्ञ डाक्टर बेराको सुझाव छ ।

अत्यधिक गर्मी बढेपछि बाँकेका अधिकांश विद्यालय बन्द छन् । अत्यधिक मात्रामा गर्मी बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालय यही जेठ २१ गते आईतबारदेखि २३ गते मङ्गलबारसम्मका लागि बन्द गरिएको ती पालिकाले जनाएका छन् ।

आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

उनका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी उक्त तीन दिन विद्यालय बन्द गरिनेछ ।

‘नेपालगन्जमा बढेको अत्यधिक गर्मीले पठनपाठनमा कठिनाइ भएको र विद्यार्थी बिरामी पर्न थालेको कुरालाई मध्यनजर गरी यस उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत विद्यालयमा आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी बिदा गर्न भनेका छु’, उनले भने ।

यस्तै गर्मी बढ्दै गएपछि बाँकेको जानकी, खजुरा, राप्तीसोनारी, कोहलपुर र बैजनाथले विदा दिएका छन् भने जिल्लाका अरु स्थानीय तहले पनि गर्मी बिदा गर्ने तयारीमा रहेका जनाइएको छ । मौसम विज्ञान विभाग नेपालगन्ज बाँकेका अनुसार नेपालगन्जको तापक्रम ४० डिग्रीमाथि पुग्ने गरेको छ ।

थप समाचार

गर्मी बढेपछि विद्यालयको बिदा लम्ब्याइयो

ह्वात्तै गर्मी बढ्यो, ‘लू’ लाग्ला ! यसरी बचौँ

बाँकेमा गर्मी बढेसँगै धमाधम विद्यालय बन्द

गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द