नेपालगन्ज बजार खोल्ने समय अवधि बढाइयो


नेपालगन्ज बजार खोल्ने समय अवधि बढाइयो

नेपालगन्ज ३० जेठ : पश्चिम नेपालको औद्योगिक, ब्यापारिक तथा पर्यटनको हबका रुपमा परिचित नेपालगन्ज बजार खोल्ने समयसीमा बढाइएकोछ ।

सशस्त्र द्वन्द्व तथा मधेश आन्दोलनका क्रममा सिर्जित असहज परिस्थितीका कारण राती १० बजेपछि नेपालगन्ज बजार बन्द गरिन्थ्यो । रातीको दश बजेसँगै सुरक्षाकर्मीले सिठ्ठि फुकेर पसल बन्द गराउँदै हिड्थे । तर, अब भने नेपालगन्जको बजार राती ११ बजेसम्म सञ्चालन गर्न पाइने भएकोछ ।

आगामी असार १५ गतेदेखि नेपालगन्जमा मौलिक स्वादको बजार ‘स्ट्रीट फुडलेन’ सञ्चालन कार्यान्वयन हुनेभएपछि रातीको दश बजेसम्म सञ्चालन हुँदै आएको नेपालगन्ज बजार खोल्ने समयसीमा लम्बिएको हो ।

पश्चिम नेपालको प्रमुख औद्योगिक तथा ब्यापारिक नगरी नेपालगन्जको मुख्यबजार, त्रिभुवन चोकलाई केन्द्र बनाएर नेपालगन्जका परम्परागत परिकारका मौलिक स्वादको बजारीकरणका लागि आगामी असार १५ गते दही चिउरा खाएर फुडलेन कार्यान्वयनमा आउदैछ । सोही ‘स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र सरोकारवालाबीच मङ्गलबार जिल्ला प्रशासनमा भएको छलफलमा समग्र जिल्लाको शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै आगामी असार १५ गतेदेखि ‘स्ट्रीट फुड लेन’ र ‘रात्रीकालीन बजार’ राती ११ बजेसम्म खुला राख्ने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी विपिन कुमार आचार्यले हाललाई असार १५ गतेदेखि ११ बजेसम्म बजार खुल्न दिने र त्यसपछिको अवस्था हेरेर आवश्यक निर्णय लिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरको शान्तिसुरक्षा र अमनचयनमा असर नपर्ने गरी स्थानीय ‘रैथाने’ परिकारहरुको प्रबद्र्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको ‘स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्न दिने सहमति बनेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा नाट्टा बाँकेले असार १५ गतेदेखि त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुडलेन’ सञ्चालन गर्न लागेको छ ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले फुडलेनले नेपालगन्जलाई नयाँ रौनक दिने बताए । सिग्देलले स्थानीय स्वादलाई एकिकृत ढंगले ‘ब्राण्डिङ र प्रमोशन’ गरिने बताए ।

थप समाचार

स्ट्रीट फुडलेन सञ्चालन गर्न सरोकारवाला सहमत, असार १५ मा दही चिउरा खाएर सुरु गरिदैँ

त्रिभुवन चोक क्षेत्रमा नेपालगन्जिया परिकार ब्राण्डिङ्ग, जेठ दोस्रो हप्तादेखि ‘स्ट्रीट फुडलेन’ कार्यान्वयन हुने

नेपालगन्जिया परिकार ब्राण्डिङ्ग गर्न त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन’ बनाइने

यी हुन् ‘नेपालगन्जीया’ खानाका परिकार