भन्सार हाताभित्रबाट कस्ले चोर्छ मालसामान ?


सेतोखरी सेतोखरी   शुक्रबार, चैत ९, २०८०
भन्सार हाताभित्रबाट कस्ले चोर्छ मालसामान ?

नेपालगन्ज ९ चैत्रः सशस्त्र प्रहरीको चार घेरा भित्र नेपालगन्ज भन्सार कार्यालय छ, जमुनाहा सीमा क्षेत्र नजिकै रहेको नेपालगन्ज भन्सार कार्यालय वरिपरी अग्लो पर्खाल पनि लगाइएको छ ।

भन्सार कार्यालयको वरिपरी सशस्त्र प्रहरीले २४ सै घण्टा सुरक्षा दिन्छ । त्यति मात्र कहाँ हो र भन्सारको सुरक्षाका निम्ती पर्खालको चारै कुनामा अग्ला टावर राखिएको छ र त्यहिँ टावरमा हतियारसहित सशस्त्र प्रहरीले ड्युटी गर्ने गर्छन् ।

विडम्बना यस्तो कडा सुरक्षाबिच भन्सार कार्यालय परिसर तथा पर्खाल भित्रबाट राखिएका मालसामान चोरी हुन्छ । भन्सारले पक्राउ गरि ल्याएका मालबाहक ट्रकबाट सामान मात्र चोरी हुँदैन, ट्रकका ब्याट्री र जग पनि चोरी हुन्छ । 

बाहिरको ब्यक्ति आएर चोरी गर्ने कुनै चान्स नै छैन, किनभने चारैतिर अग्लो पर्खाल र हतियारसहितका सशस्त्र प्रहरी चौबिसै घण्टा ड्यूटिमा रहेका हुन्छन् । सशस्त्र प्रहरी क्याम्प नै भित्र रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

मालसामान लोड गरेको ट्रक भन्सार कार्यालयले पक्राउ गरेर ल्याएपछि भन्सार हाताभित्रै राखिएको आफ्नो ट्रकको ब्याट्री र जग चोरी भएको पीडित मुनब्बरले बताए ।

यो मात्र होइन भन्सार हाताभित्र राखिएका मालबहाक ट्रकबाट मालसामान तथा ट्रकका पार्टपुर्जाहरु चोरी भइरहने गरेको भन्सार कर्माचारीहरु नै बताउँछन् ।

कस्ले चोरी गर्छ त मालसामान ?

भन्सारका कर्माचारीहरुले सशस्त्र प्रहरीको सुरक्षामा रहेको भन्सार कार्यालय भित्रबाट सामान कस्ले चोर्छ भने उत्तर प्रष्ट भएको सेतोखरीलाई बताए । 

एक भन्सार कर्मचारीले भने –‘चारैतिरबाट दिउँसो पनि राति पनि सशस्त्र प्रहरीको सुरक्षा छ । बाहिरको चोर आउने चान्स छैन । कस्ले चोर्छ भनौ र सर, आफै बुझिहाल्नुस् न ।’

यता नम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपती सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले भन्सार हाताभित्रबाट मालसमान चोरी भएको खबरप्रति विश्वास नलागेको बताए । 

उनले भन्सार परिसरभित्रैबाट मालसामान हराएको भन्ने कुनै जानकारी नआएको बताउँदै भने–‘हामीले बरामद गरेका मालसामान तुरुन्तै भन्सारलाई बुझाउछौं ।’

‘सुरक्षामा सशस्त्र प्रहरीका साथसाथै नेपाल प्रहरी समेत रहेकोले सुरक्षाप्रती हामी गम्भीरछौं । मालसामान हराउने चोरी हुने भन्ने घटना भएको छैन ।’ सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने । 

यसै विषयमा नेपालगन्ज भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माको मोबाईल नम्बरमा दुई पटक सम्र्पक गर्दा फोन उठेन ।