धमाधम रेलिङ काटिदैँ, मुखदर्शक नेपालगन्ज उपमहानगरपालिका


सेतोखरी सेतोखरी   शनिबार, चैत १०, २०८०
धमाधम रेलिङ काटिदैँ, मुखदर्शक नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज १० चैत्र : नेपालगन्ज–कोहलपुर सडकखण्डका सडक रेलिङ धमाधम काटिएकाछन् । नेपालगन्जको कारकाँदो स्थित प्रहरी तालिम केन्द्रदेखि औद्योगिक क्षेत्रसम्म तथा बसपार्कदेखि पुष्पलाल चोकसम्मका सडक रेलिङ आफूखुसी काटिएको हो ।

करोडौं खर्चेर फोरलेन सडकको फुटपाथमा निर्माण गरिएका रेलिङ काटिदाँसम्म प्रहरी तथा उपमहानगरपालिका बेखबर बनेकोछ । प्रहरीलाई रेलिङ कस्ले र किन काट्यो भन्ने बारेमा अहिलेसम्म यकिन भएको छैन । भने उपमहानगर तैँ चुप मैँ चुप छ । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सेवाग्राही आवतजावतका लागि असहज भएको भन्दै स्थानीय व्यापारिहरुले आफूखुसी रकम खर्चेर रातारात रेलिङ् काटेका हुन् । आफूखुसी सडक रेलिङ काट्दा एडिबीको सहयोगमा निर्माण गरिएका करोडौंका रेलिङ सत्यानास भएकाछन् ।

रेलिङ निर्माणले पैदल यात्री र सवारी चालकलाई जहाँ पायो त्यहिबाट बाटो क्रश गर्ने लगायतका काममा सचेत बनाउनुका साथै दुर्घटनालाई समेत न्यूनिकरण गर्छ तर, पैदल यात्रु आफूखसी सडक काट्दा सडक दुर्घटना समेत बढेर गएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरी र उपमहानगरपालिकाले रेलिङ काट्ने र काट्न लगाउनेलाई पहिचान गरि कानूनी दायरामा ल्याउनुको साटो एकपछि अर्को गरेर सडक रेलिङ काट्ने, भत्काउने गरेको पाइएकोछ । उपमहानगरपालिका कै अगाडी, प्रहरीको चौबिसे घण्टा उपस्थित हुने नेपालगन्जका विभिन्न चोक र पसल अगाडीका सडक रेलिङ काटिदाँ सहर नै कुरुप देखिएकोछ ।

राजनीतिक तथा व्यवसायी आडमा कतिपय स्थानमा त सडक रेलिङ र पोल नै भत्काएर कुनै अवशेष राखिएको छैन । त्यो दृष्य हेर्दा लाग्छ यहाँ पहिले सडक रेलिङ राखिएको थियो या थिएन ।

‘कानूनी प्रकृया विनै हुने गरेका गलत पद्धतीले प्रसय पाउँदै जाँदा करोडौं खर्चेर निर्माण गरिएका यस्ता संरचना मासिएको हो ।’ इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले भने ।

‘जिल्लाका सबै नियमन गर्ने निकाय निरिह भएकै कारण मापदण्डअनुसार बनेका, राखिएका संरचना भत्काइएका हुन् ।’ उनले अगाडी थपे–नेपालगन्जमा मात्र नभएर यस्तो समस्या कोहलपुरमा समेत छ । यस्ता गतिविधिले सडक दुर्घटना बढाएकोछ ।’

‘७१/७२ सालमा ४५ करोड बढिको लागतमा एडिबीले बनाएको सडक र रेलिङ पछिल्ला समय तोडफोड भएकाछन् । घनाबस्तीमा सडक दुर्घटना न्यूनिकरढा गर्न बनेका सडक रेलिङ तोडफोड भए । यसको सडक डिभिजन कार्यालयले जिम्मेवारी लिनुपर्छ ।’ नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

उनले अगाडी भने–‘यसरी रेलिङ काट्न हुदैन थियो । ब्यवसायलाई असर नपर्ने गरि रेलिङ राखिएको थियो । तर, आफूखुशी भत्काउने, काटिदा यसले सडक दुर्घटना बढाएकोछ ।’

श्रेष्ठले सडक डिभिजन कार्यालय र नगरपालिकाले यसको जिम्मेवारी लिएर भत्काइएका, भत्केका र काटिएका ठाँउमा पुनः निर्माणका लागि सहजिकरण गर्नुपर्ने सुझाव दिए ।

यता नेपालगन्ज उपमहानगरपालिकाले सडक रेलिङ काटिएकोप्रति दुःख ब्यक्त गरेकोछ । मेयर प्रशान्त विष्टले भने –‘कुनै पनि बहानामा सडक रेलिङ काट्ने, भत्काउने कार्य गरिनु हुन्नथ्यो । विडम्बना त्यसो भएकोछ ।’

‘हामी निर्वाचित भएर आउनुअघिदेखि नै नेपालगन्जमा रेलिङ काट्ने, भत्काउने काम भएको हो । यसविषयमा हामीले सम्बन्धित निकायसँग पहल समेत गरेका छौं ।’

घटनामा संलग्न दोषीलाई पहिचान गरि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै उनले सडक रेलिङ काटिएको, भत्काइएको विषयको जिम्मेवार उपमहानगरपालिका मात्र नभएर सडक डिभिजन, प्रहरी र प्रशासन समेत रहेको तर्क राखे । 

एशियाली विकास बैंक (एडिबी) को लगानीमा निर्माण भएको कोहलपुर–जमुनाह फोरलेन सडक अन्र्तगत नेपालगन्ज बजार क्षेत्रमा करोडौं लगानीमा सडकको किनारमा रेलिङ निर्माण गरिएको हो । यो रेलिङ काट्ने अधिकार एडिवी, नेपालगन्ज उपमहानगरपालिका र सडक बाहेक यहाँका व्यवसायीलाई छैन । तर, पछिल्लो समय आफनो राजनीतिक शक्तिको आड र दादागीरीमा बाँकेका सडकमा भएका रेलिङ जबरजस्ती काटिदैँ गएका छन् ।

केहि वर्ष अघि कोहलपुर नगरपालिकामा पनि उद्योग वाणिज्य संघले रेलिङ काटेपछि चौतर्फी विरोध भएको थियो । विरोध भएपछि रेलिङ पुनःनिर्माण गर्न लगाइएको थियो । तर नेपालगन्जमा भने तैँ चुप मैँ चुप छन् ।